
प्रचण्डले भने, वर्तमान सरकार‘ बिचौलियाको धाक र धम्कीबाट बनेको हो’
पोखरा -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकार दलाल र बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन्।
नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।’ उनले कांग्रेस–एमालेभित्रका इमानदार नेताहरूलाई यस्तो सरकारमा बस्न नहुने सुझाव पनि दिए।
अध्यक्ष प्रचण्डले अहिले दलाल पुँजीवादको प्रतिनिधित्व कांग्रेस र एमालेले गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्र त्यसको वैकल्पिक शक्ति भएको बताए। उनले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।’
सहकारी क्षेत्रमा ठगी गर्नेहरुलाई कारबाही गर्न शक्तिशाली प्राधिकरण बनाउन खोज्दा सरकार ढालिएको उनको भनाइ थियो।
प्रचण्डले संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक रहेको दाबी गरे। यद्यपि, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा अझै संरचनात्मक परिवर्तन हुन नसकेको उनले स्वीकारे। ‘परिवर्तनको लडाइँ अझै बाँकी छ,’ उनले भने।
माओवादी घटक र अन्य इमानदार कम्युनिष्टबीच एकता बढ्दै गएको बताउँदै उनले जनताले माओवादीलाई विश्वास गर्न थालेकोले नसोचेका ठाउँमा पनि जितिरहेको उल्लेख गरे।
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो।















