
बेलौरीका प्रहरी प्रमुख इन्स्पेक्टर चौधरी उत्कृष्ट प्रहरी घोषित
कञ्चनपुर– इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरी वि.सं. २०८३ सालको “कार्तिक महिनाको उत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित हुनुभएको छ।
२०८२ कार्तिक ५ गते इलाका प्रहरी कार्यालय बेलौरीको इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका प्र.नि. चौधरीले छोटो समयमै असाधारण कार्यसम्पादन र उच्च लगनशीलता प्रदर्शन गर्दै यो गौरवपूर्ण सफलता हासिल गर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले प्र.नि. चौधरीलाई प्रशंसापत्र प्रदान गर्दै उहाँको कार्यकालको उच्च कदर गर्नुभएको छ।
प्र.नि. चौधरीको नेतृत्वमा कार्तिक महिनाको अवधिमा विभिन्न क्षेत्रमा उल्लेखनीय र प्रभावकारी उपलब्धिहरू हासिल भएका छन्। यस एक महिनाको कार्यकालमा अवैध रूपमा भन्सार छली ल्याइएका अन्दाजी ९ लाख ५४ हजार ५४० रुपैयाँ बराबरका सरसामानहरू बरामद गरिनुका साथै ४७.२६ ग्राम खैरो हेरोइनसहित ९ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। यसका साथै विभिन्न कसूरमा फरार रहेका १ जना प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको छ।
अपराध रोकथाम तथा नियन्त्रणसँगै जनचेतनामूलक सामुदायिक कार्यक्रमहरूको सञ्चालन, सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन र नागरिकमैत्री सेवा प्रवाह गर्दै आम नागरिकमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। इलाका प्रहरी कार्यालय बेलौरीको समग्र शान्ति सुरक्षा कायम राख्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उहाँको उच्च प्रशंसा गरेको छ















