
कञ्चनपुरको पुनर्वासबाट लागू औषधको कारोबार गरिरहेका भारतीय सहित चार जना पक्राउ
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–४ घ गाउँस्थित साहारा इँटा उद्योग नजिकबाट ब्राउन सुगरको कारोबार गरिरहेका भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्।
बुधबार साँझ करिब ४ बजे लागूऔषध नियन्त्रण ब्युरो धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले गरेको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट ८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर र दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–६, लालपुरका २८ वर्षीय राजेश कोली र ३२ वर्षीय सुरेश कोली, भारतको लखिमपुर बसहीका ३० वर्षीय रामपुकार र पुनर्वास नगरपालिका–४ का २५ वर्षीय अमित मिश्र रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।















