
गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
आइतबार बिहान साढे ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा आमा-छोरी सवार थिए। आमा-छोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए। त्यही बीचमा छोरी शान्दिकाले शौच गर्ने बताएपछि आमा स्वस्तिकाले गाडी रोक्न भनेकी थिइन्।
त्यसपछि सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको भे. १ ज. १४८२ नम्बरको गाडीले आमा-छोरीलाई ठक्कर दिएको थियो। घटनाबारे खबर पाउनासाथ प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेर गम्भीर अवस्थाका आमा छोरीलाई उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पताल सल्ले पुर्याएको थियो । सल्ले अस्पतालमा चेकजाँच पछि साढे ९ बजेतिर आमा-छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विक प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी प्रवक्ता परियारका अनुसार मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित त्यहाँ पुगेकी थिइन्।
बिहान गुल्मीस्थित घर जानका लागि हिडेका आमा छोरी घर पुग्न नपाइ बाटोमै बितेका हुन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















