
कडा मेहनतको बलमा सुदूरपश्चिमका उद्वब लुहार बने प्रहरी निरीक्षक
कञ्चनपुर-कडा मेहनत, दृढ आत्मविश्वास र निरन्तर संघर्षको बलमा सुदूरपश्चिमका उद्वब लुहार नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा छनोट हुन सफल भएका छन्।
करिब ३ हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले खुला प्रतिस्पर्धाबाटै इन्स्पेक्टरमा आफ्नो नाम दर्ता गराएका हुन्।
डडेल्धुराको पर्शुराम नगरपालिका–४ स्थायी घर भएका लुहारले खुलातर्फको योग्यताक्रममा ८औं नम्बरमा नाम निकाल्न सफल भएका हुन्।
दलित समुदायबाट प्रतिनिधित्व गर्ने लुहारले समावेशी कोटामा मात्र निर्भर नभई खुलातर्फ नै उत्कृष्ट नतिजा ल्याएर आफ्नो क्षमता र प्रतिभा प्रमाणित गरेका छन्। उनको यो उपलब्धिले मेहनत र लगनशीलताले अवसरको ढोका खोल्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ।
उनले धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक (B.Sc.) उत्तीर्ण गरेका छन्। शैक्षिक पृष्ठभूमि बलियो बनाएका लुहारको यो सफलताले सुदूरपश्चिम र समग्र दलित समुदायका लागि ठूलो प्रेरणा
मिलेको छ।















