
धनगढीमा लागूऔषधसहित ११ जना पक्राउ
कैलाली -कैलालीको धनगढीमा प्रहरीले आइतबार विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै तीन घटनामा खैरो हेरोइन, चरेस र गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका–७ मनेहरा क्षेत्रबाट २ ग्राम ३०३ मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा १८ देखि २९ वर्ष उमेर समूहका स्थानीय युवा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारेको जनाएको छ।
त्यसैगरी, धनगढी–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट चरेस २ ग्राम ६३ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यस्तै, धनगढी–१ महोत्सव ग्राउण्ड क्षेत्रबाट गाँजा ४ ग्राम ३४० मिलिग्राम र चरेस ११० मिलिग्रामसहित थप तीन जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। धनगढी क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडा बनाइएको समेत प्रहरीको भनाइ छ।















