
कञ्चनपुरको पुनर्वासमा एकआपसमा ठोक्किए अटोरिक्सा, चालक सहित यात्रु घाइते
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका-१०, विकास बस्तीमा दुईवटा अटो रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
पुनर्वास-धनगढी जोड्ने हुलाकी सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा अटो रिक्सा र एउटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चालकसहित केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो करिब साँढे ४ बजे डोकेबजारबाट आई.बी.आर.डी.तर्फ गइरहेको म.१ ह.१२९६ नम्बरको अटो र बेलौरीबाट डोकेबजारतर्फ गइरहेको बे. न.पा. ह. ११ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।
सोही क्रममा पूर्वतर्फको भित्री सडकबाट डोकेबजारतर्फ जाँदै गरेको सु प प्र ०१-००३ प ९४५३ नम्बरको मोटरसाइकल समेत अटोमा ठोक्किन पुगेको अस्थायी ट्राफिक प्रहरी पोष्ट डोकेबजारका इन्चार्ज तथा ट्राफिक प्रहरी सहायक निरीक्षक राम सिंह भण्डारीले जानकारी दिए।
ट्राफिक प्रहरी सहायक भण्डारीका अनुसार म. १ ह. १२९६ नम्बरको अटो पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका ३३ वर्षीय प्रकाश दाहालले चलाएका थिए। सो अटोमा चालकसहित तीन जना सवार रहेका थिए।
त्यसैगरी बे. न. पा. ह. ११ नम्बरको अटो बेलौरी नगरपालिका–५ का ३४ वर्षीय रामबहादुर चौधरीले चलाएका थिए । जसमा चालकसहित पाँच जना सवार थिए।
त्यस्तै,मोटरसाइकल चालक पुनर्वास नगरपालिका–९ सिमरीका राम राना रहेको बताइएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको अहिले धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने दुवै अटोको अगाडिको भागमा क्षति पुगेको र चक्कासमेत भाँचिएका थियो।















