
अघिल्ला वर्षहरूमा अवलोकन भ्रमणहरू उपलब्धिमूलक नदेखिएपछि पुनर्वासमा सहकारी भ्रमणको आलोचना
पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिकामा विगतका अध्ययन अवलोकन भ्रमणहरू उपलब्धिमूलक नदेखिएपछि यस वर्षको भ्रमणको पनि आलोचना भएको छ ।
यस वर्ष पुनर्वासका नगरप्रमुख तोयप्रसाद शर्माको नेतृत्वमा सहकारीका सहित ५३ जनाको ४ दिने अध्ययन अवलोकन भ्रमण पूरा भएको हो।
चितवन, बन्दीपुर, पोखरा,नवलपरासीका केही सहकारीले गर्दै आएका विभिन्न कृषि तथा पशुपंक्षी फर्महरुको अवलोकन गरी पुनर्वासका सहकारीहरूको सुधारका लागि भ्रमण आयोजना गरिएको नगरपालिकाका सहकारी शाखा अधिकृत धौलाराम सार्कीले जानकारी दिए।
सहकारी सुधारका लागि छुट्याइएको पुनर्वास नगरपालिकाको ३ लाख र पुनर्वासका सहकारीहरुबाट उठाइएको २ लाख रकमको बजेटबाट सो भ्रमण गरिएको बुझिएको छ।
यता सामाजिक सञ्जालमा भने सहकारी सञ्चालन गर्न गारो भइरहेका अनि सधै घाटामै रहेका सहकारीहरु पनि घुम्ने कार्यक्रममा सहभागी हुनु लज्जास्पद भएको टिप्पणी भइरहेको छ ।
स-साना उद्यमी तथा कृषक लगनीकर्ताको लगानी मस्तीमा सक्ने काम भएको र सधै एउटै व्यक्तिले घुम्ने अवसर पाउने गरेको भन्दै सामाजिक सञ्जालबाटै केहिले असन्तुष्टि जनाएका छन् ।
हुन त अध्ययन अवलोकन भ्रमण अन्तर्गत यस अघि शैक्षिक सुधारका लागि पुनर्वास नगरपालिकाले गरेको शिक्षक भ्रमण पनि उपलब्धिमूलक देखिएको थिएन । यस्ता भ्रमणमा पालिकाको बजेट फजुल खर्च हुनेगरेको भन्दै स्थानीयहरूमा टिका टिप्पणी हुन थालेको छ ।
सो अध्ययन अवलोकन भ्रमण अन्य वर्षका जस्तो नभई उद्देश्य अनुसारको उपलब्धिमूलक बनोस् भन्ने अपेक्षा सहकारीकर्मीहरूले गरेका छन्।















