Above Article Ad
  • धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

    Above Article Content Ad
  • धनगढी- घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन्। उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन्।

    धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीय आन्दोलित भएका हुन्। शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाको नेतृत्वमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले १५ दिनभित्र डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग गरेका छन्। घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेकाले तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ।

    Article inline ad #1
  • “निगमको डिपोसँग जोडिएको वस्ती पूर्णरुपमा जोखिममा भएकाले डिपोलाई तत्काल स्थानान्तरण गरी आसपासका वस्तीमा त्रासमुक्त वातावरण निर्माण गर्न अनुरोध गर्दछौँ”, निगमलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “स्थानीयको माग सम्बोधन नभएमा १५ दिनपछि सम्पूर्ण टोलवासी र निगमसँग जोडिएका व्यवसायी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौँ।”

    Article inline ad #2

    उक्त ज्ञापनपत्रका सम्बन्धमा कैलाली जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा धनगढी उपमहानगरपालिकालाई जानकारी गराइएको टोल विकास संस्थाका अध्यक्ष ओझाले बताए। शुभकामना टोलमा ८७  घरधुरीमा ५०० भन्दा बढी व्यक्तिको बसोबास रहेको छ।

    “दुई वर्षदेखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन”, अध्यक्ष ओझाले भने, “तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ।”

    पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्यांक नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन्।

    “कतिबेला के हुन्छ भन्न सकिन्न। डिपोका कारण सधैँको चिन्ता’, ओझाले भने, “स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्, घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था छ।”

    डिपो स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजीमा निगमस्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो। सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको निगमले स्पष्ट पारेको छ।

    निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले जग्गा पहिचानको काम भइरहेको र उपयुक्त जग्गा भेट्टिनेबित्तिकै स्थानान्तरणको प्रक्रिया अघि बढ्ने बताए। “उपयुक्त जग्गा नै प्राप्ति हुन सकेको छैन, चार–पाँच स्थानमा जग्गा खोजी भइरहेको छ। पारदर्शी र मितव्ययी ढङ्गले डिपो स्थानान्तरणको जग्गा खोजी भइरहेको छ”, उनले भने।

    हाल धनगढीस्थित डिपो थोरै जग्गामा बनेको हुँदा अन्य संरचना निर्माण गर्न सम्भव नरहेको तथा दैनिक कार्य सञ्चालनसमेत विभिन्न कठिनाइ भोग्नुपरेको प्रादेशिक प्रमुख जोशी बताउँछन्। अहिले डिपो रहेको जग्गा साँघुरो भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा लोडअनलोड गर्न पनि समस्या भइरहेको उनले बताए।

    सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्नसक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ। सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमता अभिवृद्धिका काम अघि बढेका छन्। अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको माग पनि धान्न नसक्ने बताइएको छ।

    एक बिघा आठ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन्। धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ।

    विसं २०३७ मा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामा कम क्षेत्रफलमा सञ्चालनमा छ। उक्त डिपोबाट अहिले दैनिक १०० किलोलिटर पेट्रोल, ३०० किलोलिटर डिजेल तथा न्यूनमात्रामा मट्टितेल बिक्री हुँदै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by