
बेलौरी:नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत
पुनर्वास – कञ्चनपुरको बेलौरी नगरपालिकाले बेलौरी नगरपालिकाका नगर उप प्रमुख एवं अनुगमन संयोजक जोगराम चौधरीको संयोजकत्वमा बुधबार बेलौरी बजारमा अनुगमन गरेको छ।
अनुगमन टोलीमा उपप्रमुख एवं अनुगमन संयोजक जोगराम चौधरी, इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीका नायब सुब्बा दिपेन्द्र प्रसाद जैसी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट, नगरपालिका विभिन्न शाखामा कार्यरत कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि,युथ नेटवर्किङ क्लबका अध्यक्ष केशब बोहरा र सचिव भुपेश पाण्डे लगायत सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो।
अनुगमन टोलीले बेलौरी बजारका किराना,पसल होटल, रेस्टुरेन्ट,कपडा पसल,मासु पसलहरू गरी ३४ वटा पसलमा अनुगमन गर्दा म्याद सकिएका सामग्रीहरू,भारतबाट आयात भएको प्रतिबन्धित पेय पदार्थ,जंक फुड,कालो प्लास्टिक लगायतका सामग्रीहरू जफत गरेको छ।

अनुगमनका क्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख एवं अनुगमन संयोजक चौधरीले बजारमा म्याद गुज्रेका सामग्रीहरू, प्रतिबन्धित पेय पदार्थले मानव स्वास्थ्यमा निकै असर गर्ने बताउँदै बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो।अनुगमन संयोजक चौधरीले पहिलोपटक सामग्रीहरू जफत गरेको बताउँदै अटेरी गरे जरिवाना गर्ने समेत बताउनुभयो।दर्ता नभएका पसल र फर्मलाई दर्ता गरी सञ्चालन गर्न आग्रह गर्नुभयो।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बजार अनुगमनलाई वर्षमा करिब ४/५ पटक सम्म गर्न सके सबै सचेत हुने बताउँदै गुणस्तरिय सामाग्री बिक्री वितरण गर्नुपर्नेमा जोडिनुभयो।अनुगमनका क्रममा बेलौरी युथ नेटवर्किङ क्लबका अध्यक्ष केशव बोहराले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तिजन्य, मदिराजन्य पदार्थ नबेच्न व्यापारीलाई आग्रह गर्नुभयो
















