
पुनर्वास नगरपालिकाको गोठ सुधार कार्यक्रम : ५० हजार भुक्तानी दिनुपर्नेलाई झण्डै डेढ लाख भुक्तानी
कञ्चनपुर – पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सरकारी बजेट खर्च गर्ने नाममा मर्मत, इन्धनसँगै गोठ सुधार कार्यक्रमहरूमा चर्को अनियमितता गरेको महालेखा परीक्षणको प्रतिवेदनले उजागर गरेको छ।
सार्वजनिक सम्पत्तिको उपयोगमा देखिएको मनपरीपन र प्रक्रिया विपरीतको भुक्तानीले स्थानीय तहमा जवाफदेहिताको गम्भीर प्रश्न उठाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालन भएको गोठ सुधार कार्यक्रममा कार्यविधि अनुसार प्रति गोठ रु. ५० हजार वा लागतको ५०% अनुदान दिन सकिने व्यवस्था छ।
तर पालिकाले २०८१ सालको बैशाख ४ गते सुवेदी गाई फर्म (दशरथ शर्मा) र न्यूनाथ ट्रेडर्स (सरिता गिरी) लाई नियम मिचेर क्रमशः २६ हजार ३८८ रुपैयाँ र ८७ हजार २०३ रुपैयाँ बढी भुक्तानी गरेको महालेखाले पुष्टि गरेको छ। यी दुई फर्मलाई गरिएको जम्मा १ लाख १३ हजार ५९२ रुपैयाँ अनधिकृत भुक्तानी तत्काल असुल गर्न महालेखाले सिफारिस गरेको छ। नगरभित्रका सबै पशुपालन कृषकलाई नगरपालिकाले एक नजरमा हेर्नुपर्ने भएपनि यहाँ आफन्त र नजिकका व्यक्तिहरूलाई बढी प्राथमिकता दिएर अनुदानका कार्यक्रममा समावेश गराउने प्रचलन पनि देखिने गरेको छ ।
“जसलाई स्थानीय तहले सेवा दिनुपर्थ्यो, त्यही जनताको ढाड सेक्ने गरी गरिने यस्ता मनपरी खर्चहरू दण्डित नहुन्जेल विकेन्द्रीकरणको भावना र जवाफदेही शासन केवल नारामै सीमित हुन्छ। नियम र प्रक्रिया जनताको करबाट चलेको बजेटमा होइन, आफ्नै खल्तीमा खर्च गरे झैँ गर्ने प्रवृत्तिको तुरुन्त अन्त्य आवश्यक छ।”
















