
डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा पुनर्वासमा मौरी पालन कार्यक्रम सुरु
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा मानव र बन्यजन्तु बीचको दोन्द्ध न्युनिकरणका लागि मौरी पालन कार्यक्रम सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा तथा कुण्डा सव डिभिजन वन कार्यालय, पचकडीयाको संयोजनमा दुई दिने मौरी पालन तालीम सञ्चालन गरिएको हो ।

मानव–बन्यजन्तु दोन्द्ध न्यूनीकरणका लागि वैकल्पीक उपायको रूपमा सुरु गरिएको तालिममा पुनर्वास क्षेत्रका सामुदायिक वन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । तालिम पश्चात सहभागीहरूलाई १८ वटा मौरीका घार वितरण गरिएको छ, जसले उनीहरूको आयआर्जनका साथै बन्यजन्तु नियन्त्रणमा पनि सहयोग पुराउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले यो कार्यक्रम जिल्लाका दुई ठाउँमा नमुनाका रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । मौरीको घारले हात्तीजस्ता बन्यजन्तु बस्तीमा पस्न नदिने भएकाले यसले मानव–बन्यजन्तु दोन्द्ध घटाउन सहयोग पुराउने उहाँले बताउनुभयो । मौरी पालनले आर्थिक फाइदा पनि दिने भएकाले स्थानीयको जीवनस्तर उकास्न मद्दत पुग्नेमा बिश्वस्त रहेको उहाँले बताउनुभयो ।

यस्तै कुण्डा सव डिभिजन वन कार्यालय पचकडीयाका प्रमुख दिनेश कुमार यादवले मौरी र बन्यजन्तु बीचको जैविक सम्बन्ध बारे जानकारी गराउँदै मौरीको गुँजार आवाजबाट बन्यजन्तु डराएर टाढा रहने हुँदा बस्ती जोगाउन सहज हुने बताउनुभयो । यो कार्यक्रमले पुनर्वास क्षेत्रका सामुदायिक वन समूहहरूलाई वातावरणीय संरक्षण, बन्यजन्तु नियन्त्रण र वैकल्पीक आम्दानीका अवसर प्राप्त हुने अपेक्षा गरीएको छ । दीर्घकालीन रूपमा यो अभ्यास कञ्चनपुरका अन्य बन्यजन्तु दोन्द्ध प्रभावित क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको छ ।
















