
भारतीय विद्युत्मन्त्री खट्टर नेपाल आउँदै
काठमाडौं – भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । उनी दुई दिनको भ्रमणका लागि ९ वैशाखमा नेपाल आउनेछन् ।३० माघ २०८१ मा भारत भ्रमण क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले ९ वैशाखमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस्तै १० वैशाखमा भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङ मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन्