Above Article Ad
  • बुटवलमा सहकारीको जागिर छाडेर अटो रिक्सा चलाउन थालेकी रिताको लोभलाग्दो कथा

    Above Article Content Ad
  • बुटवल : बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउछिन् । त्यसबाट उनी दैनिक करिब १ हजार ७ सय कमाउछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छिन् ।

    कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गरेकी थिइन । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनी बताउँछिन् ।  सहकारीको जागिर छाडेर सुरुमा रिक्सा भाडामा लिएर चलाएकी रीताले अहिले भने आफैँ रिक्सा किनेर चलाउँदै आएकी हुन् । बुटवलको नयाँ बसपार्कलाई केन्द्र बनाएर बुटवलका विभिन्न स्थानमा उनी यात्रुलाई पुराउने गर्छिन ।

    Article inline ad #1
  • कामलाई कहिल्यै पनि सानोठूलो नठान्ने उनी कहिलेकाहीँ महिला चालक भनेर कतिपय यात्रुले हेप्ने गर्दा दुःख लाग्ने गरेको बताउँछिन् । “हामी पनि पुरुषसरह नै काम गर्छौं, तर कतिपयले महिला भनेर हेयको दृष्टिकोणले हेर्ने गर्छन्,” उनी भन्छिन्, “कतिपय यात्रुले त गन्तव्यमा पुगेपछि भाडा दिने बेलामा झगडा नै गर्छन् ।”

    Article inline ad #2

    रिक्सा चालक रीताको उपमहानगरपालिकाप्रति गुनासो छ । “यति ठूलो नगरभित्र एउटा सार्वजनिक शौचालय पनि छैन, शौचालय जानुपर्ने अवस्थामा समस्या छ,” उनी भन्छिन्, “पार्किङको पनि त्यस्तै ठूलो समस्या छ ।” अटो रिक्सा चालकहरु दोहोरो करको मारमा परेको बताउँदै यस विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने रीताको भनाइ छ ।

    बुटवल–१२ नयाँगाउँ घर भएकी ३९ वर्षीय खिमाकुमारी विक पनि विगत आठ वर्षदेखि रिक्सा चलाउने काम गर्छिन । सुरुका एक वर्ष भाडामा रिक्सा चलाएकी खिमाले त्यसपश्चात् आफैँले रिक्सा किनेर चलाउन थालेकी हुन्। उनी भाडाको रिक्सा चलाउँदा कमाई हुन नसके पनि दैनिक रुपमा रिक्साधनीलाई भाडा बुझाउन बाध्य हुनुपर्ने भएकाले आफैँ रिक्सा किनेर चलाउन थालेको बताउँछिन् ।

    खीमाका श्रीमान् भारतको मुम्बईमा रोजगारीमा छन् भने २१ वर्षकी एक छोरी र १९ वर्षका छोरा घरमै  छन् । यो कामबाट आत्मसन्तुष्टि मिलेको बताउने खीमा दैनिक १ हजार २ सय देखि १ हजार ५ सय सम्म कमाई हुने गरेको बताउँछन् ।

    यस्तै, बुटवल देवीनगर अस्थायी बसोबास गर्ने एकल महिला मीना नेपालीले पनि रिक्सा चलाएरै आफ्नो चारजनाको परिवारको गुजारा चलाइरहेकी छिन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ की उनले विगत सात वर्षदेखि बुटवलमा रिक्सा चलाउँदै आएकी छिन् ।  विगत तीन वर्षअगाडि आफैँले नयाँ रिक्सा लिइन । “भाडाको रिक्सा चलाउँदा कमाएको पैसा साहुलाई बुझाउँदा आफ्नो लागि पैसा नै नबच्ने, अहिले त आफ्नै  रिक्सा छ, जति कमायो सबै आफ्नै हुन्छ,” उनले भनिन् । बिहान घरको काम सकेर ११ देखि साँझ ६ बजेसम्म उनले रिक्सा चलाउँछिन् । बुटवलमा नजिकैको दूरीमा रु ३० त्योभन्दा अलि टाढा रु १०० सम्म भाडा तय भएको उनी बताउँछन् ।

    रिक्सा चलाउने क्रममा उनीसँग मीठा–नमीठा दुवै क्षण छन् । कतिपय महिलाले सङ्घर्ष गरेको यो काम देख्दा सम्मानजनक व्यवहार गर्ने, कतिपय महिलाले नै अभद्र व्यवहार गर्ने नमीठो क्षण सुनाइन । पुरुषले पनि कतिपयले सम्मानजनक त कतिपयले अभद्र व्यवहार गरेको नमीठो छाप मीनाको मनभित्र गढेको  छ । अटोरिक्सा चलाउने मजदुरलाई नगरपालिकाको व्यवहारप्रति मीनाको दुखेसो छ । उनले अब कार चलाउन सिकेर ट्याक्सी चलाउने पेसा अगाडि बढाउने धोको रहेको सुनाइन।

    बुटवलमा यसरी अटोरिक्सा चलाएर जीवन धानेका कैयौँ महिला र पुरुष छन् । यही काममा सपना र भविष्य सजाउनेहरु जसले आफ्नो मुख्य पेसा यसैलाई मानेका छन् । अन्य व्यवसाय गर्न पर्याप्त लगानी नहुनु र कतै रोजगार गर्न सोही अनुसारको दक्षता नहुँदा जीवन धान्ने मुख्य काम यही बनेको उनीहरुको धारणा छ । पुरुषको तुलनामा अटोरिक्सा चलाउने महिलाहरुका बढी समस्या छन् । अटोरिक्सा व्यवसायी तथा चालकहरुले स्थानीय पालिका र यातायात कार्यालय गरी दुई ठाउँमा दोहोरो कर बुझाउँदा दोहोरो करको मारमा परेको उनीहरूको गुनासो छ ।

    बुटवलमा  एक हजार ४१३ अटोरिक्सा दर्ता भई नगरबाट सञ्चालनका लागि अनुमति लिएको उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत पुष्पराज खनालले बताए। त्यसमध्ये हालसम्म करिब ५० अटोरिक्सा महिलाका नाममा दर्ता भएको अधिकृत खनाल बताउँछन् । बुटवलमा गुड्ने सबै अटोरिक्सा दर्ता र अनुमतिमा नआएको उनले बताए ।

    आकर्षक गन्तव्य र सबैको रोजाइअन्तर्गतकै तिलोत्तमा नगरपालिकामा हालसम्म ३३२ अटोरिक्सा सञ्चालनमा रहेका छन् । यसमध्ये ३४ महिलाले आफ्नो नाममा सवारी चालक अनुमतिपत्र र रिक्सा दर्ता गरेको आर्थिक विकास शाखाका अधिकृत कृष्ण पाण्डेले बताए । अधिकृत पाण्डेका अनुसार १०० अटोरिक्सा अझै दर्ता प्रक्रिया रहेका छन् ।

    रुपन्देहीकै देवदह नगपालिकामा हालसम्म करिब २१ अटोरिक्सा नगरमा दर्ता भई सञ्चालनमा रहेका छन् । नगरमा गुड्ने सबै अटोरिक्सा दर्ता प्रक्रियामा नआएको नगरपालिकाले जनाएको छ । यसैगरी, सिद्धार्थनगर नगरपालिकामा पनि सञ्चालन भएका सबै अटोरिक्सा दर्ता प्रक्रियामा आएका छैनन् । हालसम्म ४७३ रिक्सा नगरमा दर्ता भई सञ्चालनमा आएको नगरपालिको राजस्व शाखाले जनाएको छ । यसैगरी, एक मात्र महिलाले नगरमा रिक्सा दर्ता गरेको सो शाखाका अधिकृत कमलकान्त खनालले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by