Above Article Ad
  • सबैका पीडा देख्ने पत्रकारका पीडा कसले देख्ने ?

    Above Article Content Ad
  • सत्यका पक्षमा उभिने, न्यायका लागि लड्ने र समाजलाई सही दिशा दिने एउटा पवित्र पेसा हो। पत्रकारहरू दिनरात खटेर आम नागरिकका समस्याहरू उजागर गर्छन्, भ्रष्टाचार, अन्याय र बेथितिको पर्दाफास गर्छन्। उनीहरू कहिले बाढीपहिरोमा फसेका नागरिकका पीडा संकलन गर्छन्, कहिले अनियमितताका खबर निकालेर जनतालाई चेतना दिन्छन्। जब समाज अन्यायमा क्रुद्ध हुन्छ, पत्रकारले नै कलम उठाउँछ; जब पीडितले न्यायको बाटो भेट्दैन, पत्रकारकै आवाज अगाडि आउँछ। तर, जब पत्रकारहरू आफैं पीडित हुन्छन्, तिनका पीडा कसले देख्ने? जब उनीहरू आक्रमणमा पर्छन्, तिनका लागि न्याय कसले खोज्ने?

    पत्रकारिताको धर्म सत्यतथ्य उजागर गर्नु हो, तर सत्य खोज्नु सधैं सहज हुँदैन। नेपालमा मात्र होइन, विश्वभर नै सत्य बोल्ने पत्रकारहरू दमन, धम्की, हिंसा र हत्या जस्ता अमानवीय घटनाको शिकार भएका छन्। नेपालमा स्वतन्त्र पत्रकारितालाई कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि व्यवहारमा भने पत्रकारहरू अनेकौं चुनौतीको सामना गरिरहेका छन्। सत्ताका गलत अभ्यास उजागर गर्दा उनीहरूलाई धम्क्याइन्छ, दबाब दिइन्छ, कानुनी जटिलतामा पारिन्छ वा चरित्रहत्या गरिन्छ। कतिपय अवस्थामा पत्रकारहरू शारीरिक आक्रमणको समेत सिकार भएका छन्।

    Article inline ad #1
  • पत्रकारितामा सुरक्षा मात्र नभई आर्थिक अस्थिरता पनि ठूलो समस्या बनेको छ। सञ्चारमाध्यमहरू टिक्नै संघर्षरत छन्, जसका कारण पत्रकारहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्। कतिपय सञ्चारगृहहरूले आफ्ना कर्मचारीलाई नियमित पारिश्रमिकसमेत उपलब्ध गराउन सकेका छैनन्। यसका कारण पत्रकारहरू पेशागत असुरक्षामा बाँच्न विवश छन्। नयाँ पुस्ता यस क्षेत्रमा आकर्षित हुन छाड्दैछ, किनभने भविष्य अन्योलपूर्ण छ।

    Article inline ad #2

    सञ्चारमाध्यमहरूमा राजनीतिक प्रभाव र स्वार्थ हावी हुँदै गएको छ। कतिपय मिडिया घराना कुनै न कुनै शक्तिकेन्द्रको नियन्त्रणमा छन्, जसका कारण स्वतन्त्र पत्रकारिता खुम्चिँदै गएको छ। विज्ञापन, आर्थिक दबाब, सत्ता र शक्तिका खेलहरूले पत्रकारिताको निष्पक्षता नै खतरामा पारेका छन्। सत्तासँग नझुकेका, निष्पक्ष समाचार सम्प्रेषण गर्ने पत्रकारहरू दबाबको सिकार बन्नुपरेको छ।

    पत्रकारिताले बलियो समाज निर्माण गर्छ, तर त्यसका लागि पत्रकारहरू स्वयं सुरक्षित हुनु आवश्यक छ। पत्रकारहरूमाथि हुने दमन, हिंसा र अन्यायको अन्त्य गर्न सरकार, सञ्चारगृह, नागरिक समाज र सम्पूर्ण पत्रकार समुदाय एकजुट हुन आवश्यक छ। पत्रकारहरूको सुरक्षाका लागि कानुनी प्रत्याभूति हुनुपर्छ, उनीहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्छ, अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्द्धन गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। सत्य लेख्ने कलम सुरक्षित नभएसम्म समाजमा सत्यको उज्यालो फैलिने छैन। अब समय आएको छ— पत्रकारहरूको पीडा देख्ने र समाधान खोज्ने!

    नवराज अवस्थी, प्रबन्ध निर्देशक, दीप न्युज प्रा. लि.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by