
साना किसान सहकारीको २१ औं वार्षिक साधारण सभा सम्पन्न
पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-५ मा अवस्थित श्री साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार एक भव्य समारोहका बीच पुनर्वास-६ स्थित जीवन ज्योती माध्यमिक बिद्यालयको खेल मैदानमा संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष दिना निरौलाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथीमा नगर उपप्रमुख भुलिया कुमारी राना,नगरपालिकाका सहकारी प्रमुख धौलराम सार्की,पुनर्वास-४,५,६ का वडाध्यक्ष मनोज जैशी,पदम बहादुर रोकाया,मित्र सिंह लामा,साना किसान अत्तरीया शाखाका प्रबन्धक आसिन हुनुहुन्थ्यो । त्यस्तै, केन्द्रिय दुग्ध सहकारीका सञ्चालक सदस्य भरत बिष्ट , सहकारी नगर समन्वयका अध्यक्ष शंकर केसी,दलित सहकारीका अध्यक्ष राजकुमार रायमाझी,साना किसान कालिकाकी अध्यक्ष मिना बिष्ट ,प्रवन्धक चिरमाया तामाङ,साना किसान पराशनका अध्यक्ष धर्मकला पौडेल, व्यवस्थापक अमृता गौतम सुवेदी अतिथीको दिर्घामा रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा सहकारीको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीमा बाह्य ऋण मात्रै नथुपार्न सञ्चालकलाई सुझाव दिनुभएको थियो ।
” अहिलेसम्म हेर्दा महिलाहरुको सहकारीमा पार्दर्शिता देखेको छु ।” उहाँले भन्नुभयो, “सञ्चालक समितिमा पनि नियमानुसार बनाई दोहोरिने र दुई तर्फ आवद्ध हुने सदस्यहरू नराख्नुस ।”
त्यस्तै,शेयर सदस्यहरुले सञ्चालक समितिमा बस्न चाहनेहरुले पनि स्थान नपाउने गरेको गुनासो पोख्दै व्याजदर कम गर्ने र एकदिन ढिलो भए लाग्ने हर्जनालाई हटाउनुपर्ने जस्ता विषयमा जोड दिनुभएको थियो।
त्यसैगरी, संस्थाकि अध्यक्ष तथा कार्यक्रमकि सभाध्यक्ष निरौलाले आज हाम्रो बडा दिन हो । त्यै पनि वर्षदिनमा एक दिन सहकारीको कार्यक्रमलाई शेयर सदस्यहरुले समय दिन नसकेको देख्दा आफै दुखी भएको बताउनुभयो ।
४ सय ६५ समुहमा २ हजार ८ सय ४८ शेयर सदस्यहरु रहेको सो सहकारीले गत आर्थिक वर्षमा ६ करोड ३८ लाख ३२ हजार ९ सय ७३ रुपैयाँ आम्दानी देखाएकोमा ४ करोड ६६ लाख ८२ हजार ८ सय ५० रुपैयाँ खर्च देखाउदा १ करोड ७१ लाख ५० हजार १ सय २३ रुपैयाँ संस्थालाई मुनाफा भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाकि उपाध्यक्ष गंगा रोकायाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक कल्पना चापागाईंले गर्नुभएको थियो ।