स्थानीय खाद्य अधिकार सञ्जाल पुनर्वासद्वारा सिमरी नालामा मिसाईएको फोहार प्रति ध्यानाकर्षण
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीमा रहेको भागेश्वर चिनि मिलबाट निस्कने फोहोरको विषयमा स्थानीय खाद्य अधिकार सञ्जाल पुनर्वासको ध्यानाकर्षण भएको छ ।
शनिबार स्थानीय खाद्य अधिकार सञ्जाल पुनर्वासको बैठकले एक विज्ञप्ती जारी गर्दै सिमरी नालामा मिसाईएको फोहोरलाई व्यवस्थापन गर्नुपर्ने भन्दै ध्यानाकर्षण जनाएको हो ।
सञ्जालका पुनर्वास संयोजक कञ्चन गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा भागेश्वर चिनी मिलका कारण उखु उत्पादनमा वृद्धि भई रोजगारीको अवसरहरु समेत सुजना भएको तथा त्यसका कारण जीवनयापनमा आर्थिक रुपमा समेत सहजता ल्याउन मद्धत पुगेको विषयमा दुइमत छैन । तर उद्योग स्थापना पछिका दिनहरुमा सरकारसँग सम्झौता भए अनुरुप उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन नभई सिमरी नालामा फोहोर मिसाउने कार्यबाट सिचाँईमा प्रयोग हुने पानी प्रदुषित हुन गई सिचाँई सुविधाबाट बञ्चित हुनुपरेको र जलचर, वातावरण, पशुबस्तु लगायतलाई समेत हानी हुने नोक्सानी पुगेको विषय विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएको प्रति हामी पनि गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त कार्यलाई रोकी “बाँच्न पाउने अधिकारको आधार, खाद्य अधिकार” लाई सुनिश्चित गरिदिन सम्बन्धित निकायसँग अपिल गर्दछौ भनि उल्लेख गरिएको थियो ।
सो सञ्जालले विभिन्न मानबसँग सम्बन्धित खाद्य अधिकारका विषयमा विगतका वर्षहरु देखि खबरदारी गर्दै आएको सञ्जाल पुनर्वासका संयोजक गिरीले जानकारी दिए ।