
कञ्चन आवाज मिडिया हाउसद्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई
पौष ६, बेलौरी। कंचनपुर जिल्लाको दक्षिणी क्षेत्रका नेपाल पत्रकार महासंघ शाखाका नव निर्वाचित पदाधिकारी, सदस्यहरू र प्रदेश परिषद सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ।शनिबार, बेलौरी-४ शान्तिपुरस्थित पोखरी कटेजमा कंचन आवाज डटकमले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा नव निर्वाचित पत्रकारहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा कंचन आवाज डटकमका संरक्षक सुरज श्रेष्ठले नव निर्वाचित पत्रकारहरूलाई टीका लगाएर र खादाले स्वागत गर्दै, यस क्षेत्रको पत्रकारितालाई अझै विश्वसनीय बनाउने विश्वास व्यक्त गरे। उनले स्थानिय समस्या उजागर गर्दै पत्रकारिता क्षेत्रबाट अपेक्षा गरिएका विषयमा निर्भीक कलम चल्ने आवश्यकता औंल्याए।
त्यसैगरी, नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका नव निर्वाचित सह-सचिव किशोर तमाङले पत्रकारितामा देखा परेका विकृति तथा समस्याको पहिचान गरी समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा सुदूरपश्चिम प्रदेश परिषद सदस्य विमल धामी, नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका सह-सचिव किशोर तमाङ, जिल्ला सदस्य द्वय धन बहादुर बिक र हरिलाल जोशीलाई बधाई तथा शुभकामना प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कंचन आवाज डटकमकी सम्पादक मीरा श्रेष्ठले पत्रकारिताको भूमिकालाई जिम्मेवार र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले स्थानीय स्तरमा पत्रकारिताको महत्व र यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य हुनुपर्ने धारणा राखिन्। कार्यक्रमको सहजिकरण कंचन आवाज डटकमका समाचार संयोजक केशव भट्टले गरेका थिए। कार्यक्रममा स्थानिय पत्रकारहरू, समाजसेवी, तथा विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।