
पुनर्वास–बेलौरीका पसलमा लगाईएका मदिरा र सुर्तीजन्य प्रचारका बोर्ड हटाईयो
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका होटल तथा किराना पसलहरुमा लगाईएका होडिङ बोर्डहरु हटाईएका छन् ।बुधबार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय तथा प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र कञ्चनपुरको आयोजनामा होटल तथा पसलहरुमा लगाईएका मदिरा तथा सुर्तीजन्य पदार्थका प्रचारप्रसारका होडिङ बोर्डहरु हटाईएका हुन् ।
सुर्तीजन्य तथा मदिराका प्रचारका लागि राखिएका सामाग्री तथा बोर्डले युवावर्गलाई लागुऔषध तर्फ थप उत्प्रेरित बनाउने भएकाले सरकारले यस्ता खाले प्रचार सामाग्री हटाउन थालेको मन्त्रालयका सुचना प्रविधि प्रमुख लालप्रसाद न्यौपानेले जानकारी दिए ।
उनले कैलाली र कञ्चनपुरका करिब एक हजार बढि होडिङ बोर्डहरु हटाईएको र अबका दिनमा पुनः देखिए सुर्तीजन्य तथा मदिरा नियन्त्रण सम्बन्धी ऐन २०६८ को दफा १० र ११ र प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ६२ र ६३ बमोजिम कार्वाही गरिने बताए ।
उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रतिनिधि,जनप्रतिनिधि,प्रहरी र पत्रकारहरु सहभागिता थिए ।