
बेलौरीमा लागू औषध र शान्ति सुरक्षाको विषयमा अन्तरक्रिया सम्पन्न
कंचनपुर –कंचनपुर दक्षिणी क्षेत्र अन्तर्गत भारतसँग खुला सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधिहरुले लागुऔषधको व्यापक ओसारपसार र शान्ति सुरक्षामा चुनौती रहेको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार कञ्चनपुरको बेलौरीमा आयोजना गरेको सीमा क्षेत्रका वडाध्यक्ष, वडा सदस्यहरुलाई लागू औषध, शान्तिसुरक्षा लगायत समसामयिक विषयवस्तुमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ।
स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले उक्त कार्यक्रमको आयोजनाले भारतीय सीमा नाकामा हुने ठगी, आपराधिक घटना, लागू औषध, भन्सार छली कार्य नियन्त्रणका लागि सहज हुने बताउँदै बालबालिकाहरु पनि लागू औषधको कुलतमा फसेको देखिएको उल्लेख गर्नुभयो । त्यस्तै बैंकिङ कसुरका घटना, घरेलु हिंसा, लैङ्गिक हिंसाका घटनाहरुमा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापति बेलौरी नगरपालिका नगर उप प्रमुख जोगराम चौधरी, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्मर बहादुर विक, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख रामकुमारी राना, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथ, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरी, बेलौरी, पुनर्वास र बेलडाँडीका विभिन्न वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले प्रहरी चौकीहरुमा दरबन्दी अनुसारको प्रहरी खटाउनुपर्ने बताउँदै बजार क्षेत्रमा प्रहरी बिट र बेलौरी नगरपालिका वडा नम्बर ३ मा प्रहरी चौकी स्थापनाका पहल गर्न आग्रह गर्नुभयो। बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र खड्काले पूर्ण रुपमा खुल्ला सीमालाई सहजता गराउनका लागि प्रहरी आवश्यक सहयोगले चोरी, तस्करी लगायतका घट्नामा कमी आउने बताउनुभयो। बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले देशका कर्णधारका रुपमा रहेका बालबालिकामा लागू औषधका घट्नाले भयावहको अवस्था आइरहेको बताउँदै खुल्ला सीमामा कडाई गर्नुपर्नेमा जोड दिनुभयो। पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले कार्वाहीका प्रकिया गर्नुभन्दा पहिला गाउँ गाउँ बस्तीमा सचेतना कार्यक्रमको आयोजना गर्न सके लागू औषधका घटना न्यूनीकरण हुने बताउनुभयो।पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मनोज जैशीले आफ्नो वडामा खुल्ला सीमामा धैरै बाटोहरू भएकाले यस्ता घटनाहरु बढेको बताउँदै एउटै बाटो प्रयोगका लागि पहल गर्न सके प्रभावकारी हुने बताउनुभयो।बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षले चोरी तस्करी लगायत घटनामा जनतालाई प्रहरीले शान्ति सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यस तर्फ जोड दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज चौधरीले आफ्नो वडामा लागू औषधको घट्नाहरु बढ्दो क्रममा रहेकोमा जिज्ञासा राख्दै भन्सार क्षेत्रमा कडाई गर्नुपर्ने बताउनुभयो।
अभियान्ता धर्मेन्द्र गिरीले लागू औषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बताउँदै लागू औषध नियन्त्रणका लागि पहल गर्नुपर्ने बताउनुभयो।अभिवावकले आ आफ्ना बालबालिकालाई कुलतबाट बचाउन कडाई गर्नुपर्ने समेत बताउनुभयो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उप सभापति रानाले गाउँ बस्ती स्तरमा लागू औषधको विषयमा जनचेतना जगाउनका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो।बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथ जिल्ला प्रहरी कार्यालयको आयोजनामा महत्वपूर्ण कार्यक्रम गर्नुभएको धन्यवाद ज्ञापन गर्दै लागू औषधका घट्नाहरुलाई कमी ल्याउन हामी सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न सके सजिलै कमी आउने बताउनुभयो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्मर बहादुर विकले लागुऔषध नियन्त्रण र शान्ति सुरक्षाको उचित व्यवस्थापन अहिले नेपाल प्रहरीको प्राथमिकताको विषय बनेको उल्लेख गर्दै लागू औषध जस्तो गम्भीर समस्यालाई प्रहरी एक्लैले सहजै नियन्त्रण गर्न नसक्ने बताउनुभयो। कार्यक्रममा उठेका विषयवस्तुलाई सम्बोधनका लागि माथिल्लो निकायमा पठाउने समेत बताउनुभयो।
समापनमा बोल्दै सभापति तथा बेलौरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोगराम चौधरीले लागू औषध बिरुद्दको महाअभियान कार्यक्रमबाट बेलौरी क्षेत्रमा सुरु गरिएको अभियानको दौरानमा घट्नामा केही आएपनि निरन्तरता दिन नसक्दा पछिल्लो समयमा यस्ता बिस्तारै बढ्दै गइरहेको बताउँदै हामी सबैले आफ्नो ठाउँबाट लागे सहजै नियन्त्रणमा लिन सकिने बताउनुभयो। कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले गर्नुभएको थियो।















