धनगढीमा बन्ने टेक्निकल कलेजलाई पुनर्वासमा ल्याउने प्रयासमा माननीय बिष्ट
पुनर्वास- प्रदेश सभा सदस्य माननीय दिवान सिंह बिष्टले कैलालीको धनगढीमा तोकेको टेक्निकल कलेज कंचनपुरको पुनर्वासमा ल्याउने प्रयास गर्नुभएको छ ।
मंगलबार माननीय बिष्ट सहित सम्भाव्यता अध्ययनका लागि गठित टोलीले टेक्निकल कलेज सञ्चालनका लागि कञ्चनपुरको पुनर्वास स्थित पैसठ्ठी बिगाहा क्षेत्रको निरिक्षण गर्नुभएको हो ।
निरिक्षणका क्रममा प्रदेश सभा सदस्य बिष्टले नेपाल सरकारकै शहरी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय आवास कम्पनीको उक्त जमिन पर्याप्त देखिएको र धनगढीबाट पनि नजिकै रहेकाले सो क्षेत्र उपयुक्त रहेको बताउनुभयो।
त्यस्तै शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरका प्रमुख दिपकराज कलौनीले २०७४ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा टेक्निकल कलेज स्थापनाको अवधारणाको निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार टेक्निकल कलेजको स्थान कैलालीको धनगढीलाई तोकेर पठाएको भएपनि अहिले सम्भाव्यताको खोजीका क्रममा पुनर्वासको सो क्षेत्रको निरिक्षणमा पुगेको जानकारी दिनुभयो ।
भारत सरकार र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा स्थापना हुने उक्त टेक्निकल कलेजले न्यून स्तर,मध्यम स्तर र उच्च स्तरको जनशक्ति उत्पादन गर्ने नेपालको पहिलो कलेज भएको उहाँको भनाई छ ।
निरिक्षण टोलीमा संविधानसभा सदस्य दिवानसिंह बिष्ट , सम्भाव्यता अध्ययन टोलिका संयोजक गेटा मेडिकल कलेजका निर्देशक हेमराज ओझा , कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल , शिक्षा ईकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिपकराज कलौनी , जिल्ला समन्वय समिति कैलालीका निमित्त प्रमुख खगराज भुसाल र नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले उक्त क्षेत्र निरीक्षण गरेको हो ।