कैलालीको एक मुक्त कमैया शिविरमा भीषण आगलागी
कैलाली –कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए ।
उनका अनुसार आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन् । तर हावाहुरी चलेका कारण आगो भने नियन्त्रणमा आएको छैन ।
करिब ८० वटा घर रहेको उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको सीमा प्रहरी चौकी रामपुरका असई जनक धानुकले बताए । ‘शिविरमा जम्मा ८० घर हुन आगो नियन्त्रणमा आइनसकेका कारण के–कति घर जले भन्ने यकिन हुन सकेको छैन,’ धानुकले भने, ‘अहिले आगो निभाउने प्रयास भइरहेको छ तर हावाहुरी चलेकाले समस्या छ ।’
उनले आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने बताउँदै शिविरका मान्छेहरु तितरवितर भएकाले मानवीय क्षतिबारे समेत यकिन जानकारी हुन नसकेको बताए ।