
पुनर्वास नगरपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम
धनबहादुर बिक
पुनर्वास स्थानीय क्षेत्रमा हुने विकासका कार्यक्रम सम्पन्न पश्चात फरफाराका लागि सहजता बनाउने उद्धेश्यले उपभोक्ता समितिका पदाधिकारीका लागि एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
आईतबार पुनर्वास नगरपालिकाको वडा नम्बर १० र ११ का उपभोक्ता समिति बिच आयोजना गरेको एकदिने अभिमुखिकरण तालिममा स्थानीय क्षेत्रमा गरिने कुनै पनि विकासका योजना सम्पादनका निमित्त आवश्यक पर्ने प्रारम्भिक जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको पुनर्वास नगरपालिका योजना अधिकृत शंकर बोगटीले जानकारी दिए ।
उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रम गर्नको उद्धेश्य माथि प्रकाश पार्दै पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी रानाले स्थानीय सरकार गठन अघि विगतमा विकासका काम सम्पन्न गरिसकेपछि भुक्तानी लिन जिल्ला जानू पर्ने अवस्था थियोे , अहिले त्यो अवस्था छैन , अहिले स्थानीय सरकार पछि अलि सजिलो भएको छ, तर पनि उपभोक्ता समितिलाई कागजी प्रक्रिया मिलाउन नजानेर अझै झन्झटिलो हुने गर्छ यसलाई सहज बनाउन उपभोक्ता अभिमुखिकरण तालिमको आयोजना गरिएको रानाले बताईन ।
विकास का कार्यक्रम सर्भसुलभ तथा अझ पारदर्शिता होस भनेर पनि कार्यक्रम को आयोजना गरिएको हो उनले भनिन । उपभोक्ता समितिको बैठक बस्दा उठाईने माईन्युटको खाका , काम सम्पन्न भई सामाजिक तथा सार्वजनिक लेखा परिक्षणका लागि गर्नुपर्ने निर्णयका खाका , सामाजिक तथा सार्वजनिक लेखा परिक्षण अनुमोदन गर्दा अनुगमनका लागि गर्नुपर्ने निर्णयहरूका खाका , काम सम्पन्न भई योजना फरफारक गर्नका लागि गर्नुपर्ने निर्णयहरूका खाका लगायत महत्वपूर्ण बिषयमा जानकारी गरिएको थियो ।
यस्तै उपभोक्ता समितिले आयोजनाको नाम , योजना समझौताका लागि पेश गर्नुपर्ने कागजात तथा फरफारकका लागि पेश गर्नुपर्ने कागजात , डोर हाजिरी , आम्दानी तथा खर्च विवरण लगायत बिषयमा समेत जानकारी गराईएको थियोे । पुनर्वास नगरपालिका योजना अधिकृत शंकर बोगटी र नगरपालिका सह लेखापाल रामकृष्ण बिकले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।
करिब ४० जना उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागितामा भएको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुकदेव रानाको सभापतित्व तथा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाको प्रमूख आतिथ्यता रहेको थियो । अभिमुखिकरण कार्यक्रम पौष २५ गते वडा नम्बर १ र २ मा , २६ गते ७ , ८ , ९ मा २७ गते वडा नम्बर ३ , ४ , ५ र ६ मा आयोजना गरिने जनाईएको छ ।