बाजुरामा हत्या गरिएको अयडीको न्यायका लागि पुनर्वासमा दबाबमूलक कार्यक्रम
पुनर्वास – बाजुरामा हत्या गरिएको अनेरास्ववियु केन्द्रीय सदस्य तथा सुदुरपश्चिम विश्व विद्यालय कमिटीका अध्यक्ष चेतनदीप अयडीको हत्यारालाई नियन्त्रणमा नलिएको विषयलाई लिएर पुनर्वासमा विद्यार्थीहरुले दबाबमुलक कार्यक्रम गरेका छन् ।
सोमबार अनेरास्ववियु पुनर्वास नगर कमिटीले अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको हत्यामा संलग्न व्यक्तिहरु नियन्त्रणमा नलिएको भन्दै पुनर्वासका बजार केहि समय बन्द गरेर दबाबमुलक कार्यक्रम गरेको हो ।
अनेरास्ववियु पुनर्वासका ईन्चार्ज नन्दराज जोशीको नेतृत्वमा गरिएको दबाबमूलक कार्यक्रममा विद्यार्थीहरुले बाजुरा प्रशासन मुर्दावाद, अयडीको हत्यालाई सार्वजनिक गर, कमरेड अयडीलाई न्याय दे जस्ता नारा सहितका हातहातमा प्लेकार्ड लिएका थिए ।
दबाबमूलक कार्यक्रमका क्रममा बोल्दै अनेरास्ववियु पुनर्वासका ईन्चार्ज जोशीले देशमा लोकतन्त्र, गणतन्त्र आईसकेपछि पनि जनतालाई सुरक्षाको प्रत्याभूति नहुनू निकै निन्दनीय कुरो भएको बताए ।
अहिले सम्म कानुनी राज्यको आभास भएको छैन, कानुनी राज्य हुनुपर्छ यसकालागि हाम्रो निरन्तर लडाई रहने उनको भनाई छ ।
मंसिर ४ गते साँझ घरमै कुटपीट गरि अयडीको हत्या गरिएको थियो। सो घटनामा कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको एमालेको आरोप छ।