
मलाई मुख्यमन्त्री बनाउँछन् भन्नेमा म विश्वस्त छु : बिष्ट
बेलौरी – कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘२’ बाट प्रदेश सभामा निर्वाचित भएका दिवान सिंह विष्टले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो दाबीसंगै विश्वस्त समेत रहेको बताएका छन् । आफू निर्वाचित भइसकेपछि आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य समेत रहेका विष्टले आफू सिनियर नेता भएकाले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताएका हुन् ।‘म पहिले २०७० सालमा संविधान सभा सदस्य पनि भइसेको छु । मैले दुई वर्ष प्रतिनिधि सभामा सदस्य भएर पनि काम गरिसकेको छु,’ उनले भने, ‘त्यसकारण पनि यो प्रदेशमा सिनियरका हिसाबले पनि म नै हो । मैले राजनीतिक सङ्गठनमा पनि काम गरेको करिब ३२ वर्ष भइसक्यो, नेविसंघबाट काम गरेको ४५ वर्ष भइसक्यो । अब म सुढृड पनि हो । मैले मुख्यमन्त्रीमा दाबी गर्ने स्वभावै हो ।’
प्रदेशमा चुनाव लड्ने मनसाय नबनाएका विष्टले प्रचण्ड र प्रधानमन्त्रीकै आश्वासनमा चुनाव लडेको दाबी गरे ।
‘हेर्नुस् म २०७० मा चुनाव लडेर जितेको र २०७४ मा पनि सङ्घीयमा चुनाव लडेको हुँ । म प्रदेशमा चुनाव लड्दैन भनेर भन्दा खेरी हैन तपाई प्रदेश सरकारको प्रमुखकै लागि हो । तपाई चुनाव लड्नुस् र तपाई प्रदेशका लागि तयारी गर्नुस् भनेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जी र प्रधानमन्त्री शेर बहादुर जीले पनि त्यो आश्वासन दिनुभयो। त्यही आश्वासमा नै म प्रदेशमा चुनाव लडेको हुँ । त्यसकारण मलाई मुख्यमन्त्री बनाउँछन् भन्नेमा म विश्वस्त छु,’उनले भने ।
आफू मुख्यमन्त्री भएपछि अहिलेको सरकारको भन्दा पनि राम्रो काम गर्ने बताए । ‘यदि म मुख्यमन्त्री भइहाल्यो भने मैले जनतामुखी नै पहिलो निर्णय गर्नेछु । म काम गर्ने मान्छे हुँ । म काम गरेर इतिहास बनाउने मान्छे हुँ । सुदूरपश्चिममा अहिलेको सरकारले जति काम गर्यो । म यो पाँच वर्षमा गरेको यो सरकारको भन्दा पनि राम्रो काम गरेर देखाउने छुँ,’ उनले भने ‘मैले मुख्यमन्त्रीको शपथ खाएकै दिन मैले जनतामुखी नै निर्णय गर्नेछु । जसले यहाँका जनताले हाम्रै लागि, प्रदेशका लागि,जनताका लागि राम्रो निर्णय गर्यो भन्ने बनाउँछु ।’