कंचनपुरमा स्वतन्त्र उम्मेदवारको चिन्ह : प्रतिनिधि सदस्य सायरको क्रस खुकुरी र प्रदेश सदस्य अधिकारीको बल्ब
पुनर्वास- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिनेहरुको यसपाली लहर लागेको छ ।
पार्टीमा वर्षौ देखि योगदान पुर्याउने कार्यकर्ताको कुनै मुल्यांकन नभएको र आगन्तुक कार्यकर्तालाई पार्टीमा मुल्यांकन भएपछि कार्यकर्ताहरुले राजिनामा दिदै पार्टीका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगको तालिका अनुसार असोज २६ गते उम्मेदवार फिर्ता गर्ने समय तोकेकोमा नेकपा एमालेबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका धेरै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् भने स्वतन्त्र उम्मेदवारी दर्ता गरेका स्थिर प्रसाद घिमिरेले भने पार्टीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए।
यसैगरी पार्टीका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले बुधबार नै निर्वाचन कार्यालयमा चुनाव चिन्हपनि रोजेका छन् । कंचनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सदस्यका स्वतन्त्र उम्मेदवार खेम सुवेदीले माछा, स्वतन्त्र उम्मेदवार जगत सायरले क्रस खुकुरी र स्वतन्त्र उम्मेदवार हरिना देवि भट्टले हार्मोनियम चिन्ह रोजेका थिए ।
त्यस्तै प्रदेश सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका भक्तबहादुर अधिकारीले बल्ब, टेकबहादुर साउदले लालटिन र नेत्रलाल चौधरीले पानीको धारा चुनाव चिन्ह रोजेका छन् ।
कंचनपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरुमा नेकपा एमालेका कार्यकर्ता बढि छन् ।