
पुनर्वासमा चोरी पैठारी गरी ल्याएको सय बोरा युरिया सहित ट्रेक्टर प्रहरी नियन्त्रणमा
पुनर्वास- कंचनपुरको पुनर्वासमा रातीको समयमा भारतबाट चोरी पैठारी गरी ल्याएको एक सय बोरा युरिया सहितको ट्रेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिबार बिहान साढे दुई बजेतिर पुनर्वास नगरपालिका-१० स्थित दोदा पुल नजिकबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलीले चोरी पैठारीको युरिया सहितको ट्रेक्टर नियन्त्रणमा लिएको हो ।
रातीको समयमा से २ त २३७० नम्बरको ट्रेक्टरमा युरिया कृष्णपुर लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।
प्रहरी निरीक्षक मल्लका अनुसार मल तस्करी गर्ने तस्करहरु प्रहरी देखेपछि ट्रेक्टर छाडेर फरार रहेको बताए ।
त्यस्तै केहिदिन अघि पुनर्वास नगरपालिका-१ ढक्काबाट भारतीय प्लास्टिकका कुर्सी, बाटा र एक बोरा चिनी पनि नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको युरिया मल सहितको ट्रेक्टर र प्लास्टिक कुर्सी, बाटा र चिनी गरी ४ लाख ३५ हजार ६ सय बराबरको मालसामान भन्सार कार्यालय त्रिनगर कैलाली बुझाएको प्रहरी निरीक्षक मल्लले बताए ।
पुनर्वासमा मलखाद मात्रै हैन हार्डवेयर, किराना, तरकारी, पेयपदार्थ, ईलेक्ट्रोनिक्स, कुखुरा, अण्डा लगायतका लाखौ रुपैयाँको मालसामान दैनिकै भारतीय बजारबाट नेपाली बजारमा खुलेयाम भित्रीने गरेको स्थानीयको भनाई छ ।
मालसामान भित्रीएपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले कुनै रोकावट भने गरेको देखिन्न ।