Above Article Ad
  • बेलौरीमा शिक्षिका बम मृत भेटिएको घटनाको निष्पक्ष छान बिन गर्न माग

    Above Article Content Ad
  • धनगढी -कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी शिक्षिका पशुपती बम जोशीको मृत्यु प्रकरण थप रहस्यमय बनेको छ। माइती पक्षले उनको मृत्यु आत्महत्या नभई हत्या हुन सक्ने आशंका गर्दै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेको छ।

    मृतकका श्रीमान्, सासु र ससुराको भूमिकामाथि शंका व्यक्त गर्दै माइती पक्षले इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदनसमेत दिएको छ। उनीहरूले घटनाको सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

    धनगढी उपमहानगरपालिका–५ माइतीघर भएकी पशुपती गत साउन २७ गते धनगढीबाट बेलौरीस्थित आफ्नो घर पुगेकी थिइन्। त्यसको भोलिपल्ट, साउन २८ गते दिउँसो करिब २ बजे उनी घरबाट करिब तीन किलोमिटर टाढा रहेको उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। शवको पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।

    Article inline ad #1
  • मृतकका श्रीमान् हेमराज जोशी बागलुङस्थित एक विद्यालयका शिक्षक हुन् भने पशुपती डोटीको बोगटान फुड्सिल गाउँपालिकास्थित एक विद्यालयमा शिक्षिका थिइन्।

    Article inline ad #2

    ‘लामो समयदेखि यातना भोग्दै आएकी थिइन्’

    माइती पक्षको दाबीअनुसार पशुपतीले लामो समयदेखि श्रीमान् तथा घरपरिवारबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी थिइन्। फरक जातमा विवाह गरेका कारण सुरुदेखि नै पारिवारिक सम्बन्धमा खटपट रहेको उनीहरूको भनाइ छ।

    मृतककी आफन्त देवीसिंह बम भन्छिन्, “जात मिलेन भनेर पहिल्यैदेखि परिवारमा खटपट थियो। श्रीमान्ले अर्को बिहे गर्छु भनेर धम्क्याउने गर्थे। कहिलेकाहीँ आफूले बिहे गर्ने भनेकी केटीसँग फोनमा कुरा गर्नसमेत लगाउन खोज्थे।”

    प्रेम सम्बन्धमा रहेका पशुपती र हेमराजको करिब १५ वर्षअघि मागी विवाह भएको माइती पक्षले जनाएको छ। सुरुमा फरक जातका कारण विवाहप्रति परिवारको असहमति रहे पनि हेमराजले पशुपतीसँग विवाह नभए आत्महत्या गर्ने बताएपछि विवाहका लागि सहमति भएको देवीसिंह बमले बताइन्।

    पशुपती साउन १६ गते श्रीमान्सँगै बागलुङ गएकी थिइन्। करिब एक महिना बस्ने भन्दै गएकी उनी तीन–चार दिनमै फर्किएको र त्यसको केही दिनपछि मृत अवस्थामा भेटिएको माइती पक्षको भनाइ छ।

    उनीहरूका दुई छोरा छन्। विवाहपछि मृतकका श्रीमान् तथा उनको परिवार ससुरालीमा सामान्य भेटघाटका लागि समेत नआएको माइती पक्षले दाबी गरेको छ।

    शवको अवस्थामाथि पनि प्रश्न

    माइती पक्षले शव भेटिएको अवस्था नै शंकास्पद रहेको बताएको छ। मृतकका भाइ मखन बमले पशुपतीको मृत्यु आत्महत्या नभई हत्या हुन सक्ने आशंका व्यक्त गरे।

    “शव बसेको अवस्थामा झुण्डिएको थियो। छटपटाएको जस्तो अवस्था देखिँदैन। पिठ्युँमा कसैले समातेको जस्तो माटो लागेको थियो,” उनले भने, “अन्य पनि केही आधार छन्। अहिले सबै कुरा सार्वजनिक गर्न चाहँदैनौँ। प्रहरी अनुसन्धानबाट सत्य बाहिर आउला। तर, घरपरिवारकै संलग्नतामा हत्या भएको हुन सक्छ भन्ने हाम्रो आशंका छ।”

    माइती पक्षले घटनाको प्रकृति र शवको अवस्थाले गम्भीर प्रश्न उठाएको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ।

    ससुराको भनाइ– ‘घरमा कुनै विवाद थिएन’

    यता मृतकका ससुरा महारुद्र जैशीले भने घरमा कुनै विवाद वा झगडा नभएको दाबी गरेका छन्। उनका अनुसार पशुपती घर पुगेको भोलिपल्ट बिहानसम्म परिवारसँग सामान्य अवस्था थियो।

    “बुहारी साउन २७ गते धनगढीबाट घर पुगेकी थिइन्। विवाद वा झगडा केही भएको थिएन। उनलाई सन्चो नभएको जस्तो लागेको थियो,” जैशीले भने, “२८ गते बिहान सँगै नास्ता खायौँ। घरमै बस्न भनिएको थियो। तर, पछि बुहारी घाँस काट्न जान्छु भनेर हिँडिन्। नजानु भन्दा पनि मानिनन्। पछि मृत अवस्थामा भेटिएको खबर आयो।”

    इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन्।

    हालसम्म माइती पक्षले हत्या भएको आशंका र मृतकको ससुराली पक्षले घरमा विवाद नभएको दाबी गर्दै आएका छन्। घटनाको वास्तविकता भने प्रहरी अनुसन्धान र पोस्टमार्टमलगायतका प्रमाणबाट खुल्नेछ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6