
जबरजस्तीकरणी उद्योग मुद्दामा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीका छाेरा पक्राउ
धनगढी — एक वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका धनगढीका बबी सोडारी अन्ततः पक्राउ परेका छन्।
जबरजस्तीकरणी उद्योगसम्बन्धी जाहेरीका आधारमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–१, शिवनगर निवासी सोडारीविरुद्ध धनगढीकै एक युवतीले करिब एक वर्षअघि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि पनि उनी पक्राउ परेका थिएनन्।
प्रहरीका अनुसार सोही मुद्दामा अनुसन्धान अघि बढाउने क्रममा सोडारी धनगढीस्थित आफ्नो घरमा आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। पक्राउपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोडारीविरुद्ध जबरजस्तीकरणी उद्योग शीर्षकमा जाहेरी परेको थियो र उनी यसबीच फरार सूचीमा रहेका थिए।
सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन्। यसअघि राजनीतिक दबाबका कारण उनलाई पक्राउ नगरिएको दाबीसमेत गरिएको छ।
जाहेरी दिने युवतीले भने लामो समयदेखि प्रहरीमा धाउँदै आएको बताइएको छ। प्रहरीले अहिले पक्राउ परेका सोडारीमाथि जाहेरीमा उल्लेखित आरोपबारे अनुसन्धान गरिरहेको जनाएको छ।















