
तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको मृत्यु
विराटनगर -तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । कोइरालाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति तास खेलिरहेको अवस्थामा पक्राउ परेका कोइरालासहित आठ जनालाई प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले चिया खान उठाउन खोज्दा उनी नबोलेपछि अचेत अवस्थामा रहेको थाहा भएको थियो ।
त्यसपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरिएको थियो । नोबेलमा उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति प्रहरीको गस्ती टोली पुग्दा भागदौड भएको थियो । प्रहरी आएको भन्दै होहल्ला भएपछि भाग्न खोज्ने क्रममा कोइराला लडेको उनले बताए । प्रहरीका अनुसार यसअघि सडक दुर्घटनामा परी कोइरालाको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।
सोही घटनामा प्रहरीलाई छल्न घरको दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घाइते भएका छन् । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको हामफाल्ने क्रममा दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
उनको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मुखियाको अवस्था खतरामुक्त छ ।
सोमबार राति करिब साढे ११ बजे भएको उक्त कारबाहीका क्रममा प्रहरीले घटनास्थलबाट तास र नगद ४८ हजार ३९५ रुपैयाँ बरामद गरेको थियो । प्रहरीले घटनास्थलबाट आठ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकामध्ये कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ भने मुखिया घाइते अवस्थामा अस्पतालमा उपचाररत छन् । अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
हिरासतमा रहेका व्यक्तिहरूमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल तथा ४३ वर्षीय विष्णु कामत रहेका छन्















