
सुदूरपश्चिममा लामो दूरीका बस बन्द
धनगढी – सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण सुदूरपश्चिमका विभिन्न रुटमा चल्ने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएपछि यात्रुहरू अलपत्र परेका छन्।
बस सञ्चालनमा रोक लगाउने निर्णयबारे पूर्वसूचना नपाउँदा उपचारलगायत भारतदेखि विभिन्न कामका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी आएका यात्रुहरू समस्यामा परेका हुन्।
शुक्रबारदेखि आइतबारसम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालनमा रोक लगाएका छन्। सुदूरपश्चिमबाट पहाडी रुटसँगै काठमाडौं, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बससमेत तत्कालका लागि सञ्चालन नगर्ने निर्णय गरिएको छ।
लामो दूरीका बस सञ्चालनमा रोक लागेपछि छोटो दूरीमा चल्ने सवारीसाधनमार्फत यात्रा गर्नुपर्ने अवस्था आएको यात्रुहरूको भनाइ छ। कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुहरूलाई थप असहज भएको छ।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेपछि यातायात व्यवसायीले पनि सेवा स्थगित गरेका हुन्।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्री बस सञ्चालनमा रोक लगाइएको थियो। शुक्रबार बिहानदेखि सुदूरपश्चिमका विकट तथा पहाडी क्षेत्रमा जाने बससमेत सञ्चालन नगरिएको उनले बताए।
‘सरकारको निर्देशन र मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको हो,’ शाहले भने, ‘जोखिम कम भएका जिल्लामा भने वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गर्नेछौँ।’
सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौं र पोखरातर्फ जाने रात्री बस दुई दिनसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। धनगढीबाट पोखराका लागि दैनिक दुईवटा र काठमाडौंका लागि १३ वटा रात्री बस सञ्चालन हुँदै आएका थिए। तर, मौसम प्रतिकूल भएपछि ती बसलाई गन्तव्यतर्फ पठाइएको छैन।
यातायात व्यवसायीहरूले खराब मौसमका कारण लामो दूरीको यात्रामा जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राखेर सेवा स्थगित गरिएको बताएका छन्। मौसममा सुधार आएपछि मात्रै नियमित रूपमा बस सञ्चालन गर्ने उनीहरूको भनाइ छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेका कारण सार्वजनिक यातायात सञ्चालनमा समेत सावधानी अपनाइएको हो। व्यवसायीहरूले मौसमको अवस्था हेरेर मात्रै यात्रुलाई गन्तव्यतर्फ पठाउने बताएका छन्।
मौसममा सुधार नआएसम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित यातायात कम्पनीसँग बस सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न व्यवसायीहरूले यात्रुलाई आग्रह गरेका छन्।















