
हरितालिका तीज सुरु, आज दर खाने दिन
तीजको व्रतका क्रममा निराहार बस्ने महिलाले त्यसका लागि शक्ति सञ्चय गर्न आज विभिन्न मीठा तथा आडिला परिकार दरका रूपमा खाने गर्छन्। विशेषगरी माइती पक्षले चेलीबेटी, दिदीबहिनी तथा छोरीलाई बोलाएर दर खुवाउने प्रचलन छ। दूधबाट बनेका शुद्ध परिकारलाई दरका रूपमा खाने चलनसमेत रहेको छ।
दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुने गर्छ। तीजको व्रत बस्ने महिलाले दर खाएर भोलिपल्टको निराहार व्रतका लागि तयारी गर्ने गर्छन्।
तीजलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउनुका साथै महिलाले वर्षभरि भोगेका दुःख, पीर र मर्का गीत तथा नृत्यमार्फत व्यक्त गर्ने अवसरका रूपमा समेत लिने गरेका छन्।
विगतमा मुख्यतः नेपालमा मनाइँदै आएको तीज पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रभावका कारण भारतका विभिन्न स्थानमा समेत मनाउन थालिएको छ। तीजका गीत तथा सांस्कृतिक कार्यक्रमले भारतीय सञ्चारमाध्यममा समेत स्थान पाउन थालेका छन्















