
भिसा त्यागेर आफ्नै देशमा सपनालाई आकार दिँदै पुष्पा बडैला, ‘सजल नृत्य कला केन्द्र’को तेस्रो वार्षिकोत्सव
धनगढी-विदेश जाने सपना धेरैका लागि अवसरको खोजी हुन्छ, तर केही मानिस यस्ता हुन्छन्, जसले विदेशको बाटोभन्दा आफ्नै माटोमा केही गर्ने सपना रोज्छन् । त्यस्तै प्रेरणादायी उदाहरण बनेकी छन् पुष्पा बडैला ।
नृत्यप्रतिको आफ्नो रुचि र प्रतिभालाई आफ्नै देशमा प्रयोग गर्ने अठोटसहित बडैलाले विदेशको भिसा समेत रद्द गरेर ‘सजल नृत्य कला केन्द्र’ स्थापना गरेकी हुन् । २०८० भदौ २ गतेदेखि सञ्चालनमा आएको उक्त नृत्य कला केन्द्रले अहिले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदैछ ।
सञ्चालिका तथा कोरियोग्राफर बडैलाका लागि यो केन्द्र केवल नृत्य सिकाउने ठाउँ मात्र होइन, उनको संघर्ष, आत्मनिर्भरता र सपनाको प्रतिविम्ब पनि हो ।
सासुको प्रेरणाले दिएको आत्मनिर्भरताको हिम्मत
सजल नृत्य कला केन्द्र स्थापना गर्नुको पछाडि आफ्नी सासुको ठूलो भूमिका रहेको बडैला बताउँछिन् ।
अहिले सासु आफ्ना बीचमा नरहे पनि उहाँले दिएको हौसला र विश्वासलाई आफूले जीवनभर सम्झिरहने उनी बताउँछिन् ।
“उहाँ नभएको भए आफ्नै खुट्टामा उभिने आँट सायद ममा आउने थिएन । आज उहाँ हामीमाझ हुनुहुन्न, तर उहाँले दिएको हिम्मत र प्रेरणा सधैं मेरो साथमा छ,” उनी भावुक हुँदै बताउछिन् ।
उनका लागि केन्द्रको प्रत्येक उपलब्धिमा आफ्नी सासुको योगदान जोडिएको छ । त्यसैले आजको सफलतालाई उनी उहाँप्रति समर्पित गर्न चाहन्छिन् ।
विदेश होइन, आफ्नै माटो रोजिन्
विदेश जाने अवसर हुँदाहुँदै पनि आफ्नै देशमा बसेर केही गर्ने निर्णय लिनु सहज थिएन ।
तर नृत्यप्रतिको रुचि, आत्मविश्वास र आफ्नै क्षेत्रमा केही गर्ने चाहनाले उनलाई आफ्नो निर्णयमा दृढ बनायो ।
आज त्यही निर्णयले एउटा सुन्दर परिणाम दिएको छ । सजल नृत्य कला केन्द्रमार्फत बालबालिका तथा युवाहरूलाई नृत्य सिकाउने र उनीहरूको प्रतिभालाई अगाडि बढाउने अवसर सिर्जना भएको छ ।
अभिभावकहरूबाट समेत केन्द्रले सकारात्मक प्रतिक्रिया पाइरहेको बडैला बताउँछिन् । “अभिभावकहरूले पनि हाम्रो कामलाई राम्रो भन्नुभएको छ । उहाँहरूको विश्वास र मायाले अझ राम्रो काम गर्ने ऊर्जा मिलेको छ,” उनी भन्छिन् ।
सपनालाई कर्मसँग जोड्दा सफलता सम्भव छ
तेस्रो वार्षिकोत्सवसम्म आइपुग्दा बडैला आफ्नो निर्णयप्रति खुसी छिन् । उनका लागि यो तीन वर्ष केवल समयको यात्रा होइन, संघर्षबाट आत्मनिर्भरतातर्फको यात्रा भएको जिकिर गरिन् ।
विदेश जानैपर्छ भन्ने सोचभन्दा आफ्नै प्रतिभा र सीपलाई आफ्नै देशमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश पनि उनको यात्राले दिएको छ ।
“अवसर खोज्न सधैं विदेश नै जानुपर्छ भन्ने छैन । आफूभित्रको प्रतिभालाई चिन्न सकियो र निरन्तर मेहनत गर्न सकियो भने आफ्नै ठाउँबाट पनि नयाँ बाटो बनाउन सकिन्छ,” भन्ने प्रेरणादायी सन्देश उनको यात्राले दिन्छ ।















