
कलाकार रवि ओडले हारे श्रीमतीसँगको सम्बन्ध विच्छेदको मुद्दा
कञ्चनपुर– गायक तथा कलाकार रवि ओडले जिल्ला अदालत कञ्चनपुरबाट सम्बन्ध विच्छेदको मुद्दा हारेका छन् ।
ओडले श्रीमतीसँग छुट्टिएर अलग बस्ने निर्णय लिदै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।
तर, अदालतले भने श्रीमतीसँगको सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ ।
न्यायाधिश सुर्यप्रसाद भण्डारीको एकल इजलाशले उक्त मुद्दाको अन्तिम सुनवाई गर्दै दुई जनाबीच सम्बन्ध विच्छेद नहुने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले रविको मुद्दामा न्यायाधिश भण्डारीको इजलाशले श्रीमतीसँगको सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको बताएका छन् ।
तर, फैसलाको पूर्ण पाठ आउन भने समय लाग्नेछ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका रवि ओडकी श्रीमतीले उनीविरुद्ध यसअघि जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् ।
सो मुद्दामा भने अदालतले रविको पक्षमा फैसला गरेको थियो । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले २०८० चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।
सुरुमा पाँच लाख धरौटीमा छुटेका रविलाई २०८१ को असारतिर अदालतले सफाई दिएको थियो । ओड नेपाल आइडल सिजन–२ का विजेता भएका थिए ।
त्यसपछि कलाकारिताको क्षेत्रमा उदाएका रविले धेरै गित गाएका छन् भने धेरै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् ।















