
सुदूरपश्चिममा मतदानपछि रोजगारीका लागि भारत जानेको लर्को
प्रदेशको प्रमुख नेपाल–भारत सिमानाका त्रिनगरमा दैनिकजसो सयौँ नेपाली आवतजावत गर्छन् । निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नागरिक मतदान सकिएलगत्तै पुन भारत जान थालेपछि सिमानाकामा चहलफल बढेको छ ।
कञ्चनपुरका पदम पन्तले भोट हाल्न नेपाल आएपनि अब पुन भारत फर्किन थालेको बताए । दुई महिनाअघि नेपाल फर्केका उनी अहिले भने पुनः भारत फर्किने तयारीमा छन् । फागुन २१ गते भएको निर्वाचनमा मतदान गर्नका लागि मात्र नेपाल आएका उनी साथीहरुसँगै भारत रोजगारीमा जान लागेका हुन् ।
त्रिनगर नाकामै भेटिएकी अछामकी कल्सु साउँदले उपचारका लागि भारत जान लागेको बताईन्। निर्वाचनपछि देशमै उपचारको राम्रो व्यवस्था भएको हेर्ने चाहना भए पनि अहिले भने नियमित स्वास्थ्य परीक्षणका लागि भारत जानु परेको उनको गुनासो छ ।
कल्सु साउँदले भनिन,‘पहिला पनि भारतमै उपचार गराएर फर्किएकी हुँ । अहिले मतदान गरिसकेपछि नियमित जाँचका लागि पुन भारत जादै छु ।’ नेपाल–भारत खुला सिमानाका कारण दैनिक हजारौँ नागरिक आवतजावत गर्छन् ।
निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नेपाली अहिले फेरि रोजगारी, उपचार र अन्य कामका लागि भारत फर्किरहेका छन् । तर आवश्यक कागजात नहुँदा कतिपय नागरिक भने सिमानामै समस्या भोग्न बाध्य पनि भएका छन् ।















