
आजदेखि उग्रतारामा देहिजाँत
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज राति रतेडी र भोलि दिउँसो दिउँसेडी मेला लाग्नेछ।
धार्मिक आस्था र ऐतिहासिक परम्परासँग जोडिएको यो मेला देहिजाँतका नामले समेत परिचित छ। अमरगढी नगरपालिका–८ मा पर्ने उग्रतारा भगवती मन्दिर डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा डाँडामा अवस्थित छ। मेलाको मुख्य विशेषता परम्परागत देउरोसँग जोडिएको छ।
छचोडा, खनमडा, दुमडा र जिलोडा भण्डार रहेका चार गाउँबाट रतेडीका क्रममा बिहान देउरो आएपछि दिउँसेडी मेला सुरु हुने परम्परा छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार मेलामा हजारौँ भक्तजन सहभागी भएर भगवतीको पूजाआराधना गर्ने गर्छन्।
उग्रतारा भगवती मन्दिरको उत्पत्तिसँग जोडिएको किंवदन्ती पनि पुरानो छ। जनश्रुतिअनुसार करिब दुई हजार पाँच सय वर्षअघि हालको अमरगढी नगरपालिका क्षेत्रको लटाउलीमा बसोबास गर्ने साँकी जातिका स्थानीयले खेत जोत्ने क्रममा हलोको फाली जमिनमा लाग्दा रगत बगेको थियो। त्यसपछि देवी उत्पत्ति भई दर्शन दिएको विश्वासका आधारमा त्यही समयदेखि उग्रतारा भगवतीको पूजाआराधना हुँदै आएको मानिन्छ।















