Above Article Ad
  • कञ्चनपुरमा जङ्गली हात्तीको आतंक बढ्दो

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएका जङ्गली हात्तीका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। पछिल्ला दिनहरूमा हात्तीले आक्रमण गर्नुका साथै घर, अन्नबाली र खेतबारीमा व्यापक क्षति पु¥याउँदा बस्ती र बाली जोगाउन स्थानीयलाई ठूलो समस्या परेको छ।

    भीमदत्त नगरपालिका–१९ बागफाटास्थित शुक्रराज टोलमा बुधबार राति जङ्गली हात्ती भगाउने क्रममा ४० वर्षीय छक्कु डगौरा गम्भीर घाइते भएका छन्। राति करिब साढे ९ बजे बस्तीमा पसेको हात्तीले आक्रमण गर्दा डगौराको टाउको, अनुहार, छाती र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइते डगौराको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि धनगढीको माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

    Article inline ad #1
  • यस्तै, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलामा पनि जङ्गली हात्तीको आतंक बढ्दो छ। मंसिर २० गते बिहान करिब ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती गाउँबस्तीमा पसी स्थानीयका घर, घरभित्र भण्डारण गरिएको अन्नपात तथा खेतमा लगाइएको बालीमा ठूलो क्षति पुर्‍याएको छ। मानवीय क्षति नभए पनि भौतिक तथा कृषि क्षति भने उल्लेख्य भएको छ।

    Article inline ad #2

    स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर हात्तीको आक्रमणबाट पूर्ण रूपमा क्षति पुगेको छ। साथै करिब पाँच–पाँच कठ्ठा जमिनमा लगाइएको उखु, गहुँ र तोरी बाली नष्ट भएको छ। घर क्षतिग्रस्त भएपछि गिरीको चार सदस्यीय परिवार हाल आफन्तको घरमा बस्न बाध्य भएको छ। यस्तै, नेपाली गिरी र बिरजनी गिरीका कच्ची घर र भान्साघरमा पनि हात्तीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

    स्थानीयका अनुसार शुक्रबार राति आएको सोही हात्ती शनिबार राति पुनः गाउँमा पसेको हो। पहिलो दिन होहल्ला गरेर भगाइएको हात्ती पुनः फर्किएपछि स्थानीयको त्रास झन् बढेको छ। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त प्रयासमा हात्तीलाई निकुञ्जतर्फ फर्काइए पनि फेरि आउने डर कायमै रहेको छ।

    हात्तीको आतंक बढेपछि स्थानीयवासीले जङ्गली जनावरबाट हुने क्षतिको उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रभावकारी व्यवस्थापन नहुँदा बस्तीमा हात्ती पस्ने क्रम बढेको गुनासो गरेका छन्।

    यसैबीच, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती बस्तीमा प्रवेश गरे नधपाउन र क्षति पुगेको खण्डमा विवरणसहित कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जनावरबाट भएको क्षतिको विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको बताएका छन्।

    स्थानीय जनप्रतिनिधिहरूले समेत घटनास्थलको अनुगमन गर्दै हात्ती बस्तीमा नआउने दीर्घकालीन उपाय अपनाउन निकुञ्ज प्रशासनसँग आग्रह गरेका छन्। तर, हात्ती पटक–पटक गाउँ पस्न थालेपछि कञ्चनपुरका सीमावर्ती बस्तीहरूमा बाली जोगाउने र सुरक्षित बसोबास गर्ने विषय गम्भीर चुनौतीका रूपमा देखिन थालेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6