
चाडपर्वमा यात्रुको सुरक्षामा प्रहरीको विशेष पहल, अत्तरियामा यात्रु सहायता कक्ष सञ्चालन
कञ्चनपुर -वडा दसैं, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै स्वदेश तथा विदेशबाट घर फर्किने यात्रुहरूको सहज र सुरक्षित यात्राका लागि अत्तरियामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त आयोजनामा अत्तरिया बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले उद्घाटन गर्नुभयो।
उद्घाटनका क्रममा डीआईजी भट्टराईले चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले यात्रुहरूको सहजतासँगै दुर्घटनारहित सवारी सञ्चालनका लागि प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
- चाडपर्वको अवधिमा यात्रुहरूको गुनासो तथा समस्या तत्काल सम्बोधन गर्न कैलालीमा १० स्थान, कञ्चनपुरमा ८ स्थान तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आवश्यकताअनुसार यात्रु सहायता कक्ष स्थापना गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी प्रमुख उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो।

यात्राका क्रममा कुनै समस्या परेमा यात्रुहरूले नेपाल प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको हटलाइन १०३, नजिकैको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न उपरीक्षक कार्कीले बताउनुभयो।















