गत असोज ७ गते बिहान करिब ११ः१० बजे कर्णाली नदी किनारमा अन्दाजी ३०र३५ वर्षीया महिलाको शव भेटिएको थियो। शव भेटिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको कमाण्डमा अनुसन्धान अधिकृतसहित सात जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक मुचुल्का तथा घटनास्थलसम्बन्धी काम पूरा गरी शवलाई टीकापुर अस्पतालको शवगृहमा राखेको थियो।
बिहीबार शव डोटीको सिलगढी नगरपालिका–६ नाचनथली बस्ने श्रीचन्द्र श्रेष्ठकी २२ वर्षीया छोरी प्रियंका श्रेष्ठको रहेको खुलेको हो। उनका ठूलो बुवा हेमचन्द्र श्रेष्ठले शवको सनाखत गरेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रियंका गत भदौ ३० गते दिउँसो ४ः५५ बजे डोटीको सिलगढी नगरपालिका–३ स्थित सेती नदीमाथिको झोलुङ्गे पुलबाट नदीमा हामफाली बेपत्ता भएकी थिइन्।
बेपत्ता भएको ८ दिनपछि उनको शव कैलालीको टीकापुरस्थित कर्णाली नदी किनारमा फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।