Above Article Ad
  • सेती अस्पतालमा जनशक्ति र पूर्वाधारको अभाव, दैनिक १५ सयसम्म बिरामीको चाप

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिमकै प्रमुख रेफरल केन्द्रका रूपमा स्थापित धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दक्ष जनशक्ति र पर्याप्त पूर्वाधारको अभावका कारण सेवा प्रवाहमा चुनौती देखिएको छ।

    प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको चाप बढ्दै गए पनि सोहीअनुसार जनशक्ति र भौतिक संरचना विस्तार हुन नसक्दा अस्पताल व्यवस्थापनमा समस्या देखिएको हो।

    Article inline ad #1
  • सेती प्रादेशिक अस्पतालमा दैनिक करिब १ हजार २ सयदेखि १ हजार ५ सयसम्म बिरामीले सेवा लिने गरेका छन्। बिरामीको बढ्दो चापका बीच अस्पतालमा विशेषज्ञ तथा दक्ष जनशक्तिको अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ। विशेषगरी केही ओपिडी सेवामा आवश्यक जनशक्ति पर्याप्त नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको बताइएको छ।

    Article inline ad #2

    अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार अहिले अस्पताल सञ्चालनको प्रमुख चुनौतीमध्ये दक्ष जनशक्तिको अभाव पनि एक हो। अस्पतालले हाल ३२० शय्या सञ्चालन गरिरहेको भए पनि बिरामीको चापअनुसार पूर्वाधार पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए।

    चार बिघा क्षेत्रफलमा रहेको अस्पतालको जमिन सडक विस्तारलगायतका कारण हाल ३ बिघा १९ कठ्ठा १४ धुरमा सीमित भएको छ। उपलब्ध क्षेत्रफलमै विभिन्न सेवा र ओपिडी सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले अस्पताल परिसर साँघुरिँदै गएको छ। छुट्टाछुट्टै भवनमा ओपिडी सञ्चालन हुँदा समेत अस्पतालको भौतिक व्यवस्थापनमा थप चुनौती देखिएको छ।

    सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालबाट अधिकांश विशेषज्ञ तथा स्वास्थ्य सेवाहरू विस्तार गरिएका छन्। बिरामीको अत्यधिक चाप व्यवस्थापन गर्दै समयको सदुपयोग गर्ने उद्देश्यले टिकट प्रणालीमा क्यूआर टोकन प्रणालीसमेत लागू गरिएको उनले बताए।

    अस्पतालमा विगतको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भएको प्रशासनको दाबी छ। विगतमा अस्पताल परिसरका विभिन्न स्थानमा फोहोर थुप्रिने समस्या रहे पनि अहिले त्यसमा सुधार गरिएको जनाइएको छ। ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका सेवाग्राहीका लागि सहायता कक्षमार्फत सहयोग गर्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ। सुरक्षा निगरानी तथा सवारी पार्किङ व्यवस्थापनमा समेत सुधारको प्रयास भइरहेको बताइएको छ।

    तर अस्पताल प्रशासनले सुधारका प्रयास भइरहेको दाबी गरे पनि सेवाग्राही भने अझै पूर्ण रूपमा सन्तुष्ट देखिएका छैनन्। अस्पतालको सेवा प्रणाली व्यवस्थित नभएको, कतिपय अवस्थामा समयमा चिकित्सकबाट सेवा नपाइने तथा लामो समय कुर्नुपर्ने गुनासो सेवाग्राहीको छ।

    अस्पतालको फार्मेसीमा आवश्यक सबै औषधि उपलब्ध नहुने गरेको गुनासो पनि सेवाग्राहीले गर्दै आएका छन्। अस्पतालमै औषधि नपाएपछि बाहिरका फार्मेसीबाट औषधि खरिद गर्नुपर्ने र त्यसका लागि महँगो मूल्य तिर्नुपरेको उनीहरूको गुनासो छ।
    अस्पतालमा पूर्वाधार निर्माण तथा विस्तारका योजना अघि बढे पनि ती योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अस्पतालको समग्र व्यवस्थापनमा समस्या देखिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। उनका अनुसार संरचना थपिँदै जानु मात्रै पर्याप्त नभई त्यसअनुसार दक्ष जनशक्ति र सेवा व्यवस्थापन पनि आवश्यक छ।

    सेती प्रादेशिक अस्पतालको सेवा सुधार र व्यवस्थापनको विषयमा सुदूरपश्चिम प्रदेश सरकारको समेत चासो देखिँदै आएको छ। मुख्यमन्त्री खगराज भट्टले अस्पतालको सेवा अवस्था र व्यवस्थापनबारे तीन पटक अनुगमन गरिसकेका छन्।

    सुदूरपश्चिमका नौवटै जिल्लाबाट उपचारका लागि बिरामी आउने सेती प्रादेशिक अस्पताल प्रदेशकै महत्वपूर्ण स्वास्थ्य संस्थामध्ये एक हो। त्यसैले बढ्दो बिरामीको चापअनुसार दक्ष जनशक्ति, पूर्वाधार, औषधि तथा सेवा व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।

    प्रदेशकै प्रमुख रेफरल अस्पताल भएकाले सेतीमा सुशासन, जवाफदेहिता र सेवाभाव कायम गर्दै सेवाग्राहीले सहज र गुणस्तरीय उपचार पाउने वातावरण बनोस् भन्ने चाहना प्रदेशवासीको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6