
कैलालीको अत्तरिया हस्पिटल गैरकानुनी रुपमा क्याथ ल्याब सेवा दिदै, कारवाही सिफारिस
धनगढी – सुदूरपश्चिम प्रदेशमै पहिलोपटक मुटुसम्बन्धी उपचार सेवा सञ्चालन गरेको दाबी गर्दै आएको कैलालीको अत्तरिया हस्पिटलले कानुनी मापदण्ड पूरा नगरी कार्डियाक क्याथेटराइजेसन (क्याथ ल्याब) सेवा सञ्चालन गरिरहेको खुलेको छ।
स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा हस्पिटलले गैरकानुनी रूपमा क्याथ ल्याब सेवा सञ्चालन गरेको पाइएपछि कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई लेखी पठाएको छ।
अत्तरिया हस्पिटलले मुटुसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेपछि कैलालीमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवसर स्थानीयले पाएको दाबी गर्दै आएको छ। तर, विशेषज्ञ सेवाका नाममा हस्पिटलले सरकारले तोकेको मापदण्ड पूरा नगरेको स्वास्थ्य कार्यालयको अनुगमनबाट खुलेको हो।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार १०० शय्यामा सञ्चालित अत्तरिया हस्पिटलले जनरल अस्पतालका रूपमा सञ्चालन अनुमति लिएको छ। तर, जनरल अस्पतालले कार्डियाक क्याथेटराइजेसन सेवा सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छैन।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची–७ अनुसार क्याथ ल्याब सेवा सञ्चालनका लागि १०० शय्याको विशेषज्ञ अस्पताल हुनुपर्ने प्रावधान छ। जनरल अस्पतालको स्वीकृति लिएर विशेषज्ञ अस्पतालले मात्र प्रदान गर्न पाउने सेवा सञ्चालन गर्नु कानुनी मापदण्डविपरीत भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
हालको स्वीकृतिअनुसार अत्तरिया हस्पिटलले जनरल फिजिसियन, जनरल सर्जरी, स्त्रीरोग तथा प्रसूति, बालरोग तथा शिशु सेवा लगायत १२ प्रकारका स्वास्थ्य सेवा मात्र सञ्चालन गर्न पाउने स्वास्थ्य कार्यालयको भनाइ छ।
स्वास्थ्य कार्यालय कैलालीका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य विष्टले गत २२ साउनमा गरिएको अनुगमनका क्रममा हस्पिटलले गैरकानुनी रूपमा क्याथ ल्याब सञ्चालन गरेको पाइएको बताए। उनका अनुसार कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरिसकिएको छ। अबको कारबाही प्रक्रिया स्वास्थ्य निर्देशनालयले अघि बढाउनेछ।
सामान्य अवस्थाका बिरामीलाई समेत शल्यक्रिया गर्ने आरोप
जनरल अस्पतालको स्वीकृति लिएर विशेषज्ञ सेवा सञ्चालन गरेको भन्दै अत्तरिया हस्पिटलमाथि विगतदेखि नै प्रश्न उठ्दै आएको छ। हस्पिटलले सामान्य अवस्थामै उपचारका लागि पुगेका बिरामीलाई समेत हतारहतार शल्यक्रियाका लागि लैजाने र मुटुको शल्यक्रिया गर्ने गरेको आरोप लाग्दै आएको छ।
गत असारमा छाती दुख्ने समस्या लिएर अत्तरिया हस्पिटल पुगेका बैतडीको पाटनका हेमन्त भण्डारीको समेत मुटुको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि कोमामा गएका भण्डारीको होस नखुल्दै मृत्यु भएको थियो।
मृत्युअघि उनलाई बेहोस अवस्थामै भारत लगिएको थियो। भारतमा उपचारका क्रममा चिकित्सकहरूले मुटुको शल्यक्रियाका क्रममा भएको त्रुटिका कारण रक्तसञ्चार हुने नसा काटिएको हुन सक्ने आशंका गरेको परिवारको भनाइ छ।
भण्डारीको परिवारले अत्तरिया हस्पिटलविरुद्ध कानुनी उपचार खोज्ने तयारीसमेत गरिरहेको जनाएको छ।















