
रोमानियामा सञ्चालित ‘तिमिस कप–२०२६’ को विजेता ८८४८ टिम रेड र उपविजेता साईवा एफसी
रोमानिया – रोमानियाको तिमिस स्टेटमा रहेका नेपालीहरूबीच आपसी एकता, भाइचारा र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजित ‘तिमिस कप–२०२६’ सम्पन्न भएको छ।
काठमाडौं मार्ट रोमानियाले आफ्नो नयाँ शाखा सञ्चालनको अवसर पारेर अगस्ट १ मा ७-ए-साइड फुटसलको मैदानमा प्रतियोगिता आयोजना गरेको हो।
काठमाडौं मार्टका सञ्चालक कमल गुरुङका अनुसार विदेशमा रहेका नेपालीहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।
प्रतियोगितामा अराद, ओराडिया, ब्रासोभ, देभा, लुगोज लगायत विभिन्न सहरबाट आएका २४ टोलीको सहभागिता रहेको थियो।
खेल सञ्चालन तथा व्यवस्थापनमा सुमन शेर्पाको संयोजनमा प्रविन गुरुङ, प्रकाश लिम्बू, बिमल लिम्बू, प्रविन मुरारी र योगेश कुँवर लगायतको टोलीले सहजीकरण गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ८८४८ टिम रेड प्रथम बन्न सफल भयो। विजेता टोलीले ५ हजार रोमानियन लेउ नगद, ट्रफी र मेडल प्राप्त गर्यो। त्यस्तै ईन्टरनेश्नल वोर्क फाइन्डरको साइवा एफसी दोस्रो हुँदै २ हजार ५ सय रोमानियन लेउसहित ट्रफी र मेडल हात पार्न सफल भयो।
प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेपछि दर्शकहरू पनि उत्साहपूर्वक खेलको आनन्द लिएका थिए। विजेता तथा उपविजेता टोलीलाई नेपाली तिमिस समाजका अध्यक्ष राज पुन र उपाध्यक्ष नारायण मरासिनीले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रमको समापनमा काठमाडौं मार्टका सञ्चालक गुरुङले आगामी दिनमा पनि यस्ता खेलकुद तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै रोमानियामा रहेका नेपालीहरूबीच एकता, सद्भाव र आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।















