
सेती प्रादेशिक अस्पतालमा आइसियु नपाउँदा दमका बिरामीको मृ*त्यु, अस्पताल प्रति पीडितको आ!क्रोश !
धनगढी –धनगढी उपमहानगरपालिका-१९ फुलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा आइसियु (सघन उपचार कक्ष) बेड नपाउँदा छटपटिएर मृत्यु भएको छ।
दमको समस्या बल्झिएपछि अस्पताल पुर्याइएका उनको बिहीबार (श्रावण १ गते) राति करिब ४ बजे मृत्यु भएको हो। सरकारी अस्पतालको चरम कुव्यवस्थापन र लापरबाहीका कारण विपन्न नागरिकले ज्यान गुमाउनु परेको भन्दै मृतकका आफन्त र स्थानीय आक्रोशित बनेका छन्।
पारिवारिक स्रोतका अनुसार असार ३१ गते साँझ थारुलाई दमको कडा असर देखिएपछि धनगढीकै एक निजी अस्पतालमा पुर्याइएको थियो। तर, निजी अस्पतालले उपचारका लागि तत्काल आइसियुमा राख्नुपर्ने र सुरुवाती खर्च मात्रै करिब १ लाख रुपैयाँ लाग्ने बताएपछि आर्थिक अवस्था कमजोर भएको चौधरी परिवारले उनलाई त्यहाँ राख्न सकेन। लगत्तै उनलाई असार ३२ गते बेलुका सरकारी उपचारको आशामा सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टर मानिने सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
“३२ गते बेलुका अस्पताल पुर्याउँदा बुबाको दम निकै बढेको थियो, चिकित्सकहरूले आइसियु अनिवार्य चाहिन्छ त भने तर बेड खाली नभएको भन्दै टारिरहे,” मृतककी छोरी मनपति देवी चौधरीले भनिन्, “राति २ बजेसम्म बेड खाली हुन्छ, पर्खिनुस् भनियो। तर २ बजेपछि पनि बेड पाइएन। ३ बजेदेखि बुबा निकै छटपटाउन थाल्नुभयो, ४ बजे हाम्रो आँखाअगाडि नै बित्नुभयो।”
मनपति देवीले बुबाको मृत्यु र अस्पतालको लाचारी समेटिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्, जुन यतिबेला भाइरल भइरहेको छ। भिडियोमा उनले सरकारी अस्पतालको उदासीनताका कारण गरिब भएकै आधारमा आफ्नो बुबाले ज्यान गुमाउनु परेको भन्दै आक्रोश र पीडा पोखेकी छिन्।
राजनीतिकरणको सिकार सेती अस्पताल
यतिबेला सुदूरपश्चिम प्रदेश सरकारमा बजेटलाई लिएर हलचल र खिचातानी मच्चिएको छ। कुर्सी र बजेटको लुछाचुँडीमा व्यस्त प्रदेश सरकारको मातहतमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था भने दिनानुदिन दर्दनाक बन्दै गएको छ। अस्पतालमा सेवा र सुविधा थप्नुको साटो राजनीतिकरण बढी हुँदा प्रदेश सरकार मूकदर्शक बनेको छ।सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेको सेती प्रादेशिक अस्पतालमा भौतिक पूर्वाधार र उपकरण भए पनि चुस्त व्यवस्थापनको अभावमा बिरामीले सास्ती खेप्दै आएका छन्। प्राविधिक प्रशासनमा हुने अत्यधिक राजनीतिकरणका कारण सेवा प्रवाह लथालिङ्गो बनेको स्थानीयको आरोप छ। यतिबेला सुदूरपश्चिम प्रदेश सरकार बजेट र सत्ताको आन्तरिक जोडघटाउमा रुमल्लिइरहँदा मातहतकै अस्पतालमा नागरिकले आइसियु बेड नपाएर ज्यान गुमाउनु परेको छ। सेती अस्पतालमा पहुँच नहुने विपन्न नागरिकले समयमा उपचार र बेड नपाएर अकालमै ज्यान गुमाउनु परेका यस्ता थुप्रै घटनाहरू बाहिर आउन नसकेको स्थानीय बताउँछन्।















