
कंचनपुरको पुनर्वासमा युवाहरुद्वारा सडकबत्ती मर्मत तथा जडान गरिदिन नगर प्रमुखलाई ज्ञापनपत्र
कञ्चनपुर – लामो समयदेखि जडान गरिएका सडकबत्ती मर्मत नहुदा र नयाँ जडान तर्फ ध्यान नदिदा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का केही युवाहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ।
सोमबार स्थानीय प्रदिप कार्कीको नेतृत्वमा रहेको युवाहरुको एक समुहले वडाका विभिन्न चोक, गल्ली तथा सार्वजनिक स्थानमा सडक बत्ती जडान गर्न माग गर्दै नगर प्रमुख तोयप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको हो।
बुझाएको ज्ञापनपत्रमा पर्याप्त सडक बत्तीको अभावका कारण रातिको समयमा आवतजावत गर्न कठिनाइ, अन्धकारका कारण सीमाबस्तीमा बाघको त्रास, चोरी, लुटपाट, दुर्घटना जस्ता घटनाको जोखिम बढेको भन्दै आवश्यक स्थानमा सडक बत्ती जडान गर्न माग गरिएको युवा प्रदिप कार्कीले बताए।
युवाहरुले वडाका यी समस्यामा नगरपालिका गम्भीर बन्ने विश्वास व्यक्त गर्दै सुरक्षित र उज्यालो बस्ती निर्माणका लागि शीघ्र पहलका लागी नगर प्रमुखलाई अनुरोध गरेका थिए ।















