
विद्यालयबाट फर्किंदै गरेका नाबालक दाजुभाइ खहरे खोलामा बगेर मृत
"पढेर घर फर्किँदै थिए दाजुभाइ, बीच बाटोमै खहरेले खोस्यो जीवन"
प्यूठानमा स्कुलबाट घर फर्किँदै गर्दा बगेर बेपत्ता मध्य दुबै दाजु भाइको शव भेटिएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका–५ का ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री मंगलबार दिउँसो ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगेका थिए । भाइ विमलको शव मंलबार बेलुका नै भेटिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बेपत्तामध्य दाजु मिलनको शव बुधबार बिहान भेटिएको हो । उनीहरु दुवै स्थानीय यामबहादुर खत्रीका छोराहरु हुन् ।
दुई नाबालक छोराको एकै साथ खहरे खोलाले बगाउँदा मृत्यु भएपछि खत्री परिवार शोकमा डुबेको छ । खहरे खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका दुबै दाजु भाइ नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत थिए ।
भाइ विमल कक्षा १ र दाजु मिलन कक्षा ३ मा अध्यनरत थिए । विद्यालयबाट घर फर्किदै गरेका दुई बालक खोलाले बगाएको सूचना मंगलबार बेलुकी साढे ६ बजेतिर वडा सदस्य कुलबहादुर खत्रीले प्रहरीलाई दिएका थिए ।
सूचना पाएलगत्तै प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजीका लागि खटिएको थियो ।














