
कञ्चनपुर–१ मा रास्वपाले सुम्पियो वीरेन्द्र शाहीलाई जिम्मेवारी
बेलौरी -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट युवा नेता वीरेन्द्र शाही (विरु) कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापतिमा निर्विरोध चयन भएका छन्।
अधिवेशनले शाहीलाई क्षेत्रीय नेतृत्वको जिम्मेवारी प्रदान गर्नुका साथै भौगोलिक क्लस्टरतर्फबाट जिल्ला सदस्यमा समेत चयन गरेको छ।
सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय शाही युवामाझ लोकप्रिय नेताका रूपमा परिचित छन्। संगठन विस्तार, युवाको सहभागिता वृद्धि र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण उनलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको बताइएको छ।
निर्विरोध चयनपछि शाहीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिने सम्पूर्ण पार्टी सदस्य तथा प्रतिनिधिप्रति आभार व्यक्त गर्दै पार्टीको नीति र जनअपेक्षाअनुसार संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कञ्चनपुरमा रास्वपाको संगठन थप सशक्त र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।














