
पुनर्वासमा आफ्नै नवनिर्मित भवनबाट विद्युत महसुल काउन्टर सुरु हुँदै
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा रहेको नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतको पुनर्वास फ्युज सेवाले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गर्न थालेको छ।
लामो समयदेखि पुनर्वास नगरपालिका-६ प्रतिभानगर बजारमा भाडाको घरबाट सेवा दिँदै आएको विद्युत महसुल काउन्टर आइतबारदेखि विद्युतको नवनिर्मित भवनमा सार्न थालिएको हो ।
बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मत बहादुर बिसी का अनुसार त्रिभुवन खानेपानी तथा उपभोक्ता समिति तथा उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकै बनेको ३३/११ केभी सब स्टेसन तथा नो-लाइट स्थापनाका लागि निर्माण भएको सोही भवनबाट चैत २२ गते आइतबारदेखि विद्युत महसुल काउन्टर अर्थात् आय काउन्टर सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
“विद्युत कार्यालयको नवनिर्मित भवनबाट हाल महसुल काउन्टर सञ्चालन सुरुवात गर्न खोजेका छौं । यही भवनमा ३३/११ के.भि. वितरण लाइनको सबस्टेसन पनि निर्माण प्रक्रियामै छ । सेवाग्राहीको सहजताका लागि एउटै भवनबाट सेवा प्रवाह हुनेछ ।” उहाँले भन्नुभयो,
बेलाबेलामा आइरहने विद्युतका विभिन्न समस्याहरू समाधानका लागि नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख लगायत सम्पूर्ण स्टाफ निरन्तर सुधारका पक्षमा रहेका पुनर्वास फ्युज सेवाका इन्चार्ज साउँदको भनाइ छ ।
महेन्द्रनगरबाट आउने विद्युतमा लाइनमा समस्या आउँदा धनगढीबाट विद्युत सुचारु हुन थालेपछि पुनर्वास-बेलौरीमा सहज हुँदै आएको र पुनर्वासमै ३३/११ के.भि. वितरण लाइनको सबस्टेसन सञ्चालनमा आए विद्युतका लो भोल्टेज लगायतका समस्याहरू पूर्ण समाधान हुनेमा स्थानीयहरू पनि विश्वस्त छन्।















