
पुनर्वासमा निर्माणाधीन अस्पताल : काम सुचारु गर्न निर्माण कम्पनीलाई ताकेता गर्दा पालिका विरुद्ध उल्टै मुद्दा

तर कञ्चनपुरको पुनर्वास नगरपालिकामा विसं २०७७ चैत्र ६ गते नगर अस्पताल निर्माणका लागि ठेक्का भएको भएपनि हालसम्म जग र पिल्लर मात्रै खडा गरी छोडिएको छ । चैत्र ६ गते ठेक्का भई विसं २०७८ असार २१ गते सम्झौता गरी काम सुरु भएको नगर अस्पताल निर्माणको काम यतिबेला अलपत्र परेको छ ।

निर्माण कम्पनी सीएम प्रशंसा एण्ड रश्मी जेवीले विसं २०८० असार १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम सुरु गरेको भए पनि सो अवधिमा काम सम्पन्न हुन नसक्दा विसं २०८२ असार १५ गतेसम्म म्याद थप गरिएको थियो । तर, यतिबेला विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले हात झिकेको छ । १० करोड ८१ लाख १२ हजार ४ सय ५६ रुपैयामा सम्झौता भएपनि १ करोड ८५ लाख ८९ हजार पेस्की रकम समेत लिएर निर्माण व्यवसायीले काम नगरेको पुनर्वास नगरपालिकाले जनाएको छ ।

पुनर्वास नगरपालिकाले दिएको जानकारी अनुसार पेस्की रकम लगिसकेको अवस्थामा, निर्माण व्यवसायीलाई काम गर्न पटकपटक ताकेता गर्दा समेत योजना अलपत्र पारी सार्वजनिक खरिद ऐन नियमावली र सम्झौता अनुसार पेस्की बापतको रकम पालिकाले बैक संग दाबी गर्दा सोही क्रममा निर्माण व्यवसायी अदालत गई उल्टै पालिका विरुद्ध मुद्दा दर्ता गरी योजना अलपत्र पारेको पालिकाले जनाएको छ।

पुनर्वास नगरपालिकाले विसं २०८१ पुष १४ गते निर्माण कम्पनी सीएम प्रशंसा रश्मी जेभिलाई यथासिघ्र योजनाको कामकाज अघि बढाउन भन्दै पत्र काटेको भेट्न सकिन्छ। पत्रमा सात दिनभित्र योजनाको कामकाज अघि नबढाए प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको थियो ।
यस्तै विसं २०८२ वैशाख २६ गते पुन: र्निर्माण कम्पनीलाई पुनर्वास नगरपालिकाले राय सहितको प्रतिक्रिया पेश गर्ने भन्दै पत्र काटेको थियो । सो पत्रमा समेत राय सहितको प्रतिक्रिया सात दिनभित्र पेश गर्न आग्रह गरिएको थियो । सो पत्रमा निर्माण कम्पनीले निरन्तरता नदिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइएको थियो।
यसरी पटकपटक ताकेता गर्दा समेत निर्माण कम्पनीले कुनै पनि चासो नदिएको पुनर्वास नगरपालिकाले जनाएको छ । अझ उल्टै निर्माण कम्पनीले पुनर्वास नगरपालिका विरुद्ध अदालतमा मुद्दा दायर गरेको र पछिल्लो समय अदालतले समेत मेलमिलाप मार्फत काम गर्ने भने आदेश दिएको पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख शंकर बोगटीले जानकारी दिनुभयो ।
१५ शैयाको नगर अस्पतालको विषयमा निर्माण कम्पनीका सम्पर्क व्यक्ति गणेश बिष्टले अदालत मार्फत मेलमिलापका लागि पत्र आए पनि पालिकाले त्यसतर्फ कुनै पनि चासो नदिएको बताउनुभयो । साथै अदालतले मेलमिलापका लागि दिएको चार बुँदे एजेन्डाहरू पालना गर्न पालिका तत्पर नभएको उहाँले जानकारी दिनुभयो । ऐलानी जग्गा तथा डीपीआर नै नभएको अवस्थामा काम गर्न नसकिएको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीले हालेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले र पुन: चैत्र २३ गते अदालत उपस्थित हुनुपर्ने मिति ताकेता भएको हुँदा अब के हुन्छ भन्ने अवस्था सिर्जना भएको छ । यसरी नै हेर्दै जाने हो भने नगर अस्पताल कहिले बन्छ भन्ने अवस्था नरहेको बुझ्न सकिन्छ । तसर्थ पालिका र निर्माण व्यवसायी बीचको मुद्दाको चाँडोभन्दा चाँडो फैसला गराई नगर अस्पताल निर्माण गर्न आवश्यक रहेको छ















प्रतिक्रियाहरु