कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ। घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ।
स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई नसर्ने रोगबाट बच्ने उपाय, नियमित औषधि सेवन, सरसफाइ, व्यायाम तथा पोषणयुक्त सन्तुलित भोजनको प्रयोगबारे परामर्श दिने गरिएको स्वास्थ्यकर्मी नाथले बताए। नियमित परीक्षणका कारण रोग समयमै पहिचान गर्न र नियन्त्रणमा राख्न सहयोग पुगेको उनको भनाइ रहेको छ।