
शिक्षक आन्दोलन थप चर्किँदै
काठमाडौँ-शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौंकेन्द्रित गर्दै आएको आन्दोलन थप चर्किँदै गएको छ । देशभरका शिक्षकहरू जम्मा भएर बिहीबार आन्दोलनलाई थप चर्काउँदै लगेका हुन् ।
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर-बबरमहल-बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।
विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।